उपलब्धिहरुमाथि प्रहार गर्ने प्रतिगामीहरुविरुद्ध लाग्न कार्यकर्तालाई नेता राईको निर्देशन

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले हाल नेपाली जनताले सात दशक लामो संघर्ष गरेर प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुमाथि प्रहार भइरहेको बताएका छन् ।

नेता राईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धिहरुमाथि प्रहार गर्ने प्रतिगामीहरुविरुद्ध लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

जसपा प्रदेश नं १ समितिले आज जुम भिडियो मिटिङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता राईले जसपाको नारा प्राप्त उपलब्धिहरुको रक्षा गर्ने र बाँकी उपलब्धिका लागि संघर्ष गर्ने रहे पनि अहिले प्राप्त उपलब्धिहरुमाथि नै प्रहार भइरहेको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपलब्धिहरुमाथि प्रहार गर्ने प्रतिगमनकारीहरुको प्रमुख पात्र बनेको बताए ।

प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको विरोधी रहेको नेता राईको भनाइ छ ।

नेपालमा २०६२/६३ मा राजतन्त्रको विरुद्धमा तथा अग्रगमन र परिवर्तनको पक्षमा जनआन्दोलन चलिरहेको बेला ओली गणतन्त्रको विरुद्धमा रहेको नेता राईले स्मरण गराए ।

उनले नेपालमा एउटै संसदलाई दुईदुई पटक विघटन गर्नु गम्भीर विषय रहेको औंल्याए ।

उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध अहिले जसपासहितको पाँच दलीय गठबन्धनले राजनीतिक तथा कानुनी लडाईं लडिरहेको बताए ।

कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य पर्शुराम खापुङले पार्टी अहिलेसम्म पनि जनताको बिचमा पुग्न नसकेको वास्तविकता औंल्याउँदै अब तीव्र गतिमा स्थानीय तहको वडा र टोलसम्म संगठन विस्तार गर्नुपर्ने बताए ।

उनले पार्टी संगठन बलियो हुँदा मात्र कुनै पनि निर्वाचनमा परिणाम ल्याउन सकिने बताए ।

जसपाकी कार्यकारिणी सदस्य दुर्गा सोबले पार्टीको विधान र नियमावली पढ्दा अन्य पार्टीहरुको भन्दा अग्रगामी र उत्कृष्ट भए पनि संगठन निर्माणको व्यवहारिक पाटोमा विधान कार्यान्वयन नभएको बताइन् ।

उनले महिलाहरुलाई ३३ प्रतिशत प्रतिनिधित्व गराउने तथा पार्टीभित्र समानुपातिक समावेशी प्रतिनिधित्व हुने विधान भए पनि व्यवहारमा कार्यान्वयन नभएको कार्यकर्ताहरुको गुनासो आइरहेको बताइन् ।

जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले समेत प्रशिक्षण दिएका थिए । जुम भिडियो कार्यक्रम जसपा प्रदेश नं १ का अध्यक्ष प्रविण चाम्लिङको अध्यक्षतामा भएको हो ।

अध्यक्ष चाम्लिङले प्रदेश नं १ ले तीनवटा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको र सो अनुसार आज दोस्रो प्रशिक्षण कार्यक्रम गरिएको बताए ।

तेस्रो प्रशिक्षण कार्यक्रम यही असार १४ गते गरिने उनले बताए ।

जसपा प्रदेश नं १ ले गत असार ९ गते पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्यहरु हेमराज राई, डम्बर खतिवडा र शुशीला श्रेष्ठलाई प्रशिक्षकको रुपमा सहभागी गराएर कार्यक्रम गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्