जसपामा अब ‘एक व्यक्ति एक पद’काे नीति

जनता समाजवादी पार्टीले ‘एक व्यक्ति एक पद’को नीतिलाई कडाइका साथ लागू गर्ने भएको छ ।

जसपाको कार्यकारिणी समितिको बैठकले पार्टीको विधानमा उल्लेख गरिएको ‘एक व्यक्ति एक पद’ लगायत नीतिहरुलाई कडाइका साथ लागू गर्नका लागि नियमावली निर्माण गरेको छ ।

योसँगै जसपाभित्र अब विभिन्न पार्टी समितिमा गरी दुई वा दुईभन्दा बढी पद ओगटिरहेका पदलोलुप नेताहरुले कुनै एक पद मात्र छान्नुपर्ने छ ।

हालसम्म जसपामा एउटै व्यक्ति केन्द्रीय समितिमा पनि बस्ने, प्रदेश समितिमा पनि बस्ने, प्रदेश समितिमा रहेको व्यक्ति जिल्ला समितिमा र जिल्ला समितिमा रहेको व्यक्ति नगरपालिका तथा गाउँपालिका समितिमा पनि बसेर दोहोरो जिम्मेवारी लिइरहेका छन् ।

जसका कारण पार्टी निर्माणमा योगदान गरेका तथा क्षमता र इमान्दारिता भएका अन्य कार्यकर्ताहरुले उपयुक्त जिम्मेवारी पाउन सकेका छैनन् ।

जिम्मेवारी नपाउँदा तल्लो तहमा रहेका कार्यकर्ताहरुले राजनीतिक क्षमताको विकास गर्ने मौका समेत पाइरहेका छैनन् ।

एक व्यक्ति एक पदको व्यवस्थापछि केन्द्रीय समितिमा बसेकाहरु प्रदेश समिति वा पहिचानमा आधारित राष्ट्रिय समितिमा पनि बस्न मिल्दैन ।

प्रदेश समितिमा बसेकाहरु जिल्ला समिति र जिल्ला समितिमा बसेकाहरु नगर तथा गाउँ समितिमा बस्न मिल्दैन ।
तर, पार्टी विधान बमोजिमका ‘पदेन सदस्य’ पदमा भने सो अनुसार बस्न मिल्छ ।

एक व्यक्ति एक पदबारे जसपाको अन्तरिम विधान धारा ५९ मा समेत उल्लेख गरिएको छ ।

जहाँ लेखिएकाे छ, ‘पार्टीले सामान्यतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिनेछ । पदेन बाहेक माथिल्लो समितिका व्यक्तिहरु तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरु माथिल्लो समितिमा रहन पाउने छैनन् ।’

विधानमा एक व्यक्ति एक पदको व्यवस्था भए पनि व्यवहारमा लागू भएको थिएन ।

सो व्यवस्थालाई कडाइका साथ लागू गर्नका लागि हाल निमायवलीमा पनि एक व्यक्ति एक पदबारे उल्लेख गरिएकाे हाे ।

जसपाका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले एक व्यक्ति एक पदको नीति तुरुन्तै लागू भएको बताए ।

‘नियमावली मैले पढ्न पाएको छैन,’ उनले भने, ‘तर जुन दिन नियमावली पारित भयो त्यही दिनदेखि लागू हुन्छ ।’

जसपाले गत २८ जुलाइको बैठकले नियमावली पारित गरेको थियो ।

जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीले ल्याएको व्यवस्थाले अब एउटै नेताले दोहोरो जिम्मेवारी लिएर बस्ने गलत प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘एक व्यक्ति एक पदको कुरा विधानमै उल्लेख भएकोले यो खास नयाँ कुरा त होइन,’ उनले भने, ‘तर विधानमा भएको व्यवस्था व्यवहारमा लागू भएकाे थिएन । नियमावलीमा पनि उल्लेख गरिएकोले अब चाहिँ लागू होला भन्ने विश्वास गर्न सकिन्छ ।’

जसपाको केन्द्रीय समिति ८०१ सदस्यीय हुने बताइएको थियो । कार्यकारिणी समिति सदस्य संख्या ५१ थियो ।

तर, महन्थ ठाकुर समूह पार्टीबाट बाहिरिएपछि हाल ३५ सदस्यीय कार्यकारिणी समिति कायम भएकाे छ ।

गत वर्ष राजपासँगको एकता र एकता कार्य पूरा नहुँदै विभाजन हुँदा जसपाभित्रका समितिहरुको पदाधिकारी, सदस्य तथा संख्या समेत फेरबदल भइरहेको छ ।

पार्टी समितिहरु अस्थिर बन्दा पार्टीबारे अनेक भ्रम हुनुका साथै संगठन  विस्तार कार्यमा पनि कठिनाइ भएकोले जसपाले आगामी भदौ १ गतेदेखि मंसिर मसान्तसम्म ‘संगठन सुदृढीकरण तथा जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्