प्रदेश १ को नाम ऐतिहासिक निरन्तरताको आधारमा : जयराम यादव [अन्तर्वार्ता]

प्रदेशसभाको समयावधि सकिन लागेको बेला वर्तमान प्रदेश नं १ सरकारले प्रदेश नामकरणका लागि संयोजन गर्ने जिम्मा जनता समाजवादी पार्टीका प्रदेश १ का संसदीय दलका नेता तथा सामाजिक विकासमन्त्री जयराम यादवलाई दिएको छ ।

यादवले प्रदेश १ को नाम पहिचान र ऐतिहासिक निरन्तरताको आधारमा अगाडि बढाउन पहल गरिने बताए ।

तर, साल्पा अनलाइनले यादवसँग गरेको प्रश्नको जवाफ पढ्दा तत्काल प्रदेश १ ले पहिचानको नाम पाउन मुस्किल देखिन्छ ।

किनभने पहिलो कुरा पहिचान पक्षधर भनिने जसपा नै नामकरणमा प्रष्ट भएर आएको छैन । र, नेकपा एमाले र नेपाली कांग्रेसजस्ता ठूला दल पहिचानको पक्षमा छैन ।

दोस्रो अब प्रदेशसभाको अवधि पनि धेरै छैन, यसबीचमा पहिचानसहितको नाम जुटाउन गाह्रो पर्नेछ ।
प्रस्तुत छ यादवसँग विजय चाम्लिङले गरेकाे कुराकानीको अंशः

अहिलेसम्म प्रदेश नं १ को मात्र हो नामकरण गर्न बाँकी, अहिलेसम्म नामकरण हुन नसक्नुको कारण के हो ?

यो नगरेर नै नभएको हो । यो भन्दा पहिला नेकपा थियो निर्णायक, र त्यसपछि नेकपा एमालेको नेतृत्वमा सरकार थियो । उहाँहरुको झन्डैझन्डै आफ्नै बहुमत थियो । थोरै कसैले सहयोग गरे दुई तिहाइ पुग्थ्यो । उहाँहरुले यो प्रक्रिया अगाडि नबढाएर नै नामकरण नभएको हो ।

प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्ने कि नगर्ने भन्ने विवाद पनि छ नि, हैन र ?

त्यो त प्रष्ट आएपछि न विवादहरु बुझिन्छ । यो कुरालाई अहिलेसम्म विगतको सरकारले अगाडि नै बढाएन ।
प्रदेशको नामकरण गर्नका लागि दुई तिहाइ मत चाहिन्छ । यदि विगतमा विभिन्न नामहरुमा छलफलहरु औपचारिक अनौपचारिक रुपमा अगाडि बढेको भए त विवाद भन्ने हो ।

विभिन्न मागकर्ताहरु छन्, उनीहरुले आ–आफ्नाे माग राखेका छन् । तर, जताबाट जे कुरा आए पनि त्यसको पूर्णता त प्रदेशसभाले नै दिने हो ।

अबचाहिँ तपाईलाई जिम्मेवारी पनि दिइएको छ प्रदेश नामकरणको लागि संयोजन गर्ने, अब कसरी अगाडि बढ्नुहुन्छ ? के नाम राख्नुहुन्छ ? तपाईहरुलाई विभिन्न खालका दबाब पनि आइरहेको होला, पहिचानको आधारमा प्रदेशको नामकरण हुन्छ त ?

यस्तो हो, संयोजन र समन्वयको जिम्मेवारी मैले पाएको छु । सदनमा एउटा साधारण प्रक्रिया हुन्छ । एकजना प्रस्तावक र दुईजना समर्थक भयो भने मान्यज्यूहरुबाट विभिन्न नामहरु प्रस्तावको रुपमा आउन सक्छ । जुन प्रस्तावमाथि दुई तिहाइको मत पुग्छ त्यही नाम अगाडि बढ्छ । अहिले यो नाम त्यो नाम भन्नै सकिदैन ।

नामको टुङ्गो कहिले लाग्छ त ? अब हुने अधिवेशनबाट लाग्छ ?

टुंगो लाग्न त पाँच मिनेट मात्र समय चाहिन्छ । तर चार वर्षमा पनि भएको छैन ।

अहिले एक वर्षको लागि गठबन्धनको सरकार बनेको हो । नामको लागि दुई तिहाइ मत चाहिन्छ । अहिलेको गठबन्धनसँग आफैमा दुई तिहाइको संख्या छैन ।

यसपालि पूर्णता पाउँछ पाउँदैन त्यो भविष्यको कुरा हो । तर हाम्रो गठबन्धनको सरकारले नामलाई टुङ्ग्याएर जानुपर्छ भन्ने हिसाबले क्याबिनेटको बैठकबाट संयोजन गर्ने जिम्मा मलाई दिएको छ ।

यसपालि पूर्णता पाउँछ पाउँदैन त्यो भविष्यको कुरा हो । तर हाम्रो गठबन्धनको सरकारले नामलाई टुङ्ग्याएर जानुपर्छ भन्ने हिसाबले क्याबिनेटको बैठकबाट संयोजन गर्ने जिम्मा मलाई दिएको छ ।

अब यो कामलाई म अगाडि बढाउँछु । दुई चार दिनमात्र भएको छ जिम्मेवारी पाएको, यसलाई एउटा टिओआर बनाएर जान्छु, क्याबिनेटले अहिले मलाई मात्र जिम्मेवारी दिएको छ, यसभित्र एक दुईजना सहयोगी साथीहरु लिएर अगाडि बढ्छु ।

प्रदेशको नाम किरात राख्नुपर्ने, लिम्बुवान राख्नुपर्ने, कोसी वा सगरमाथा राख्नुपर्ने विभिन्न मागहरु आइरहेका छन् । तपाई एउटा पहिचान पक्षधर पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, प्रदेश १ को संसदीय दलको नेता पनि हुनुहुन्छ, तपाईको व्यक्तिगत विचारचाहिँ के होला ?

प्रदेश सरकारको क्याबिनेटले दिएको जिम्मेवारी अनुसार मेरो पहिलो जिम्मेवारी समन्वयकारी भूमिका हो । जब विभिन्न प्रस्तावहरु सदनभित्र प्रवेश गर्छ, त्यतिखेर हाम्रो जनता समाजवादी पार्टीको संसदीय दलको नेताको हिसाबले जुन नामहरु आएको हुन्छ र हाम्रो पार्टीको आफ्नाे विचारधाराहरु छन्, त्यो नामसँग सम्बन्धित प्रस्तावमा हामी अगाडि बढ्छौं ।

नेपालमा हाल कायम रहेको सात वटा प्रदेश छ । हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने सात भन्दा बढी दश प्लस एक प्रदेशकै अवधारणा छ ।

यो सात वटामा पनि अहिले भर्खरै तत्कालीन २ नम्बर प्रदेशले मधेस प्रदेश नाम राखेर मात्र एउटा पहिचानको एजेण्डालाई जोगाएको हो भन्ने हाम्रो बुझाइ छ ।

अन्य प्रदेशहरुमा त पञ्चायतकालीन राजाकालीन शासकवर्गहरुले राखेका विभिन्न नदीनालाहरुको नाउँमा नामकरण गरिएको छ, त्यो जनता समाजवादी पार्टीको अवधारणै होइन ।

१ नम्बर प्रदेशको सवालमा पनि ऐतिहासिक निरन्तरताका कुराहरु, विगतमा पहिचान र सामथ्र्यका कुराहरु गरिएका थिए ।

तर, दुर्भाग्य छ हामी जनता समाजवादी पार्टीसँग प्रतिनिधित्व गर्ने मान्य सदस्यहरुको संख्या थोरै छौं, तर हामीसँग प्रष्ट विचार छ । त्यसैले यसपालिको सदनमा पनि ती विचारहरुलाई लिएर हाम्रो पार्टी अगाडि जान्छ ।

अहिलेको १ नम्बर प्रदेशको भूगोल र परिस्थितिमा चाहिँ जसपाले प्रदेश १ को नाम राख्नपर्यो भने के राख्छ ?

मैले भनेँ नि यी कुराहरु अगाडि बढ्छ, पार्टीमा पनि सरसल्लाह हुन्छ । प्रदेश कमिटी छ, हाम्रा केन्द्रीय नेताहरु छन्, हाम्रोबिचमा सल्लाह हुन्छ । हामी त्यही कुरालाई अगाडि बढाउँछौं । यो भन्दा अगाडि मैले जिस्टमा जसपाको अवधारणा भनि नै हाले ।

तपाईलाई हिजो भर्खरै राईहरुले प्रदेशको नाम किरात राख्न ज्ञापनपत्र बुझाएको थियो, त्यसमा तपाईको जवाफ के रह्यो ?

यसमा के जवाफ रह्यो त्यो बेग्लै कुरा हो । तपाईले जे कुरा सोध्न चाहनुहुन्छ मलाई प्रष्ट सोध्न सक्नुहुन्छ । तपाईले कुन प्रश्नको अपेक्षा राख्नुभएको छ म त्यो कुराको जवाफ दिन्छु ।

यसमा तपाईहरुको पार्टीको स्पष्ट धारणा आएन भन्ने नै हो प्रश्न ।

मैले भनिहालेँ नि अहिले म बोलिराख्दा जयराम यादवको व्यक्तिगत मतको कुरा राखेँ । जब विभिन्न प्रस्तावहरु सदनमा आउँछ भने एक भन्दा बढी मान्य सदस्यहरु हाम्रो पार्टीबाट पनि प्रदेशसभामा प्रतिनिधित्व रहेको हुनाले हामी तीनैजना मान्य सदस्यहरु र हाम्रो पार्टी प्रदेश कमिटिले दिएको अवधारणालाई हामी अगाडि बढाउँछौं ।

जहाँसम्म मेरो व्यक्तिगत कुरा छ मचाहिँ पहिचानको पक्षमा छु । त्यो पहिचान नदीनालाको आधारमा होइन, ऐतिहासिक निरन्तरता र जुन भूगोलको छ त्यसलाई अगाडि बढाउनुपर्छ ।

मेरो राजनीतिको जन्म मधेस आन्दोलनबाट भएको हो । मैले मधेस भनेरै आज यहाँसम्म पुगेको छु । १ नम्बर प्रदेशको भूगोललाई हेर्नुहुन्छ भने भौगोलिक आधारमा झापा, मोरङ र सुनसरी मधेसको भौगोलिक पहिचान हो । जनसंख्याको हिसाबमा यस प्रदेशको टोटल जनसंख्याको बढी बसोबास यही तीनवटा जिल्लामा छ ।

भूगोलको संरचना हेर्नुहुन्छ भने हिमाल र पहाड बढी छ । यहाँ मधेस प्रदेश हुनुपर्छ भन्ने अन्य पार्टीहरुको मनमा नहोला तर मैले एक्लै भनेर पनि हुँदैन ।

तपाईले राख्नुभएको कुरा जुन किरातका लिम्बुवानका खम्बुवानका, सगरमाथाका कोसीका कोचिलाका विभिन्न नामहरु छन् । विगतमा पनि माओवादीले जनयुद्ध गरे । त्यो समयमा पनि विभिन्न नामहरुबाट यहाँ उहाँहरुले संगठन बनाउनुभएको थियो ।

अहिले पनि नेपालकै जिम्मेवार राजनीतिक दलहरुले भोट बैंकका लागि किरातलाई पनि समर्थन गर्दै हिडेका छन्, लिम्बुवालाई पनि समर्थन गरेका छन् । तर घरमा पुगेपछि शासकवर्गले चाहेको कोसी या सगरमाथाका कुरा गर्छन्, त्यो दोमुखले त हुँदैन नि ।

त्यसैले प्रष्ट रुपमा आउनुपर्छ । जनता समाजवादी पार्टी पहिचानको लागि प्रष्ट छ, त्यसमा दुई मत छैन । हामी ऐतिहासिक निरन्तरतालाई नै लिएर अगाडि बढ्छौं ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्