एमसीसीबारे सत्तारुढ दल माओवादी केन्द्रले देखाएको दोहोरो चरित्रबारे लेखक खगेन्द्र संग्रौलाले सार्वजनिक रुपमा टिप्पणी गरेका छन् ।
उनले अहिलेको पाँच दलीय सत्ता गठबन्धनभित्र आपसमा भरोसा र विश्वास टुटिसकेकाे पनि बताएका छन् ।
संग्रौलाले सामाजिक सञ्जालबाट गठबन्धनभित्रका माओवादी केन्द्रको दोहोरो चरित्रको विरोध गरेका हुन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘भत्तासहितका सत्तामा उही छ, सडकमा ओर्लेर कुर्लिने उही छ, एमसीसी पास गर्न खुट्टा उचाल्ने उही छ, विरोधको आगो ओकल्ने उही छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रतिवद्धतासहितको पत्र अमेरिकालाई पठाएको खुलासा भएपछि माओवादीको आलोचना सुरु भएको थियो ।
किनभने अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार नगर्ने भाषण गर्दै आएका थिए । कांग्रेसकाे भने नेपालमा एमसीसी लागू गर्ने पहिलेदेखिकै नीति थियाे ।
पछिल्ला दिनमा पनि दाहालले प्रधानमन्त्री देउवासँग मिलेर कहिले एमसीसी पास गर्न संसदमा पेस गर्ने सहमति जनाउने कहिले त्यसैको विरोध जनाएर राेक्न खाेज्ने दोहोरो भूमिका देखाइरहेका छन् ।
प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा एमसीसी संसदबाट पास गर्ने नीति लिएको बेला माओवादी केन्द्रले भने एकातिर सरकारमै बसिरहने अर्कोतिर सडकमा पनि एमसीसीको विरोधमा उत्रिने दोहोरो नीति अपनाइरहेको छ ।
बुधबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरिएको एमसीसीविरोधी प्रदर्शनमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ उत्रिएका थिए ।