एमसीसी अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु-याउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उनले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील काँग्रेसका बारेमा गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्दछ भने ।

प्रधानमन्त्री देउवाले नेपालमा पटक पटकका प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरी मुलुकमा लोकतन्त्रको स्थापनादेखि देशको विकास र नागरिकको उत्थानमा नेपाली कांग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै कांग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको काँग्रेसले यसपटक पनि अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गरे ।

“एमसिसीका बारेमा नेपाली काँग्रेसको धारणा एउटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ”, उनले भने ।

सभापति देउवाले नेपालमा प्रजातन्त्र स्थापनामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, सूर्यनाथ उपाध्यायको ठूलो योगदान रहेको भन्दै उहाँहरुलाई कांग्रेसले सदैव सम्मान गर्नुपर्ने बताए ।

उनले नेता केसीले लेखेको उक्त पुस्तक नेपाली कांग्रेसको इतिहास थाहा पाउन चाहने जो कोहीलाई पनि मार्गदर्शक हुने बताउँदै सम्पूर्ण नागरिकलाई पुस्तक पढाउनुपर्ने धारणा व्यक्त गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्