Sunday, November 27, 2022
10.5 C
Diktel

किरात जोडेर प्रदेशको नाम राख्न पार्टी छोड्न पनि तयार छु : मुख्यमन्त्री राई

किरात जोड्नुपर्नेमा मेरा केही तर्क छन्

Subtitle

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम राख्दा किरात सभ्यता र पहिचानलाई जोड्नै पर्ने बताएका छन् । पहिचानको आधारमा प्रदेशको नाम नराखे ‘अब शान्ति नहुने’ उनको भनाइ छ ।

आज प्रदेश १ को धरानमा आयोजित किरात राई चाम्लिङ खाम्बातिमको पाचौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

‘हामी विकासको यात्रामा जाने भनेका छौं, शान्ति बिना विकास सम्भव हुँदैन । यहाँ पहिचानको नाम दिएन भने अब शान्ति सम्भव छैन,’ उनले भने, ‘भुगोल वा ठाउँको नाम कुनै न कुनै साइनो सम्बन्ध जोडिएर रहने गर्दछ । कुनै गाउँमा कार्कीगाउँ छ भने त्यहाँ कार्कीहरु हुन्छन्, कुनै ठाउँमा दमाईटोल छ भने दमाईहरु हुन्छन्, माछापुछ्रे हिमाल भन्यो माछाको पुछरजस्तो हुन्छ । यो ठाउँमा पनि किरातको साइनो सम्बन्ध जोडिएको छ, किरातको सभ्यता जोडिएको हुनाले यो ठाउँको नाम किरातसँग पहिचान जोडिएर रहनुपर्दछ ।’

मुख्यमन्त्री राईको भनाइ चुनावमा नेकपा एमालेले बहुपहिचानको नाम राख्ने भन्दै चुनावी घोषणापत्र बनाएर भोट मागेकोमा केन्द्रित थियो ।

‘कोशी’ कुनै पनि हालतमा सभ्यता नभएको जिकिर गर्दै उनले प्रदेशको नाममा ‘किरात’ जोडिनुपर्नेमा आफ्ना केही तर्कहरु रहेको बताए ।

‘यो कुनै भावनाको कुरा होइन, म किरातीको छोरा भएकोले मात्रै होइन, यसमा मेरा केही तर्कहरु छन्,’ उनले भने, ‘पहिलो कुरा त जनतालाई पहिचान दिने बचन यिनै नेताहरुले गरेका थिए । तिमीहरुलाई पहिचान दिन्छौं, हामीलाई भोट हाल भनेर मान्छेहरुलाई आन्दोलनमा पनि ल्याउने अनि भोट ल्याएर मन्त्री प्रधानमन्त्री हुने, अनि पहिचान दिने बेलामा आज जनतालाई धोका दिन पाइन्छ ?’

मुख्यमन्त्री राईको भनाइ चुनावमा नेकपा एमालेले बहुपहिचानको नाम राख्ने भन्दै चुनावी घोषणापत्र बनाएर भोट मागेकोमा केन्द्रित थियो ।

किनभने एमालेले सबै प्रदेशलाई बहुपहिचानको नाम दिने भनेर प्रदेश १ लाई ‘किरात कोशी’ नाम राख्ने भनी उल्लेख गरेको थियो ।

तर, आज एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली पहिचानको कट्टर विरोधी बनेका छन् । यसै विषयलाई इंगित गर्दै मुख्यमन्त्री राईले ‘हिजोको बोलीबचनमा प्रतिवद्ध भएर पहिचान दिनुपर्ने’ बताएका हुन् ।

सो क्रममा उनले पहिचानको लागि आफूले मुख्यमन्त्री र पार्टी नै छोड्न परे पनि तयार रहेको बताए ।

‘तपाईहरुले त कागजमा मागपत्र बुझाउनुहुन्छ, मैले त यहाँ (छातीमा देखाउँदै) लेखेर राखेको छु पहिचानको नाम राख्नुपर्छ भनेर,’ उनले भने, ‘पहिचानको नाम राख्ने सन्दर्भमा मैले मुख्यमन्त्री छोड्नुपर्छ भने पनि, पार्टी छोड्नुपर्छ भने पनि, राजनीति नै छोड्नुपर्छ भने पनि तयार छु ।’

उनले आफू सुम्निमा र पारुहाङको मात्रै नभएर तिनचुलाको समेत कसम खाएर पहिचानको आधारमा नामकरणको प्रयासमा लागेको बताए ।

तर आफू जति कडा भएर उफ्रिए पनि प्रदेश सभाभित्र संख्या कम रहेकोले बरु पहिचानको विपक्षमा रहेका सांसद र पार्टीहरुलाई दबाब दिन इटहरीदेखि विराटनगरसम्मको सडक जाम गर्न अनुरोध गरे ।

उनले भने, ’तपाईहरुको बातले मानेन दबाबले मानेन भने सबै थरका किरातीहरुले पाँच दिनमात्रै इटहरी चोकदेखि राजधानी विराटनगरसम्म जाम गरेर एकपटक भेला हुनुहोस् त । चिउरा र रोटी खाएर हुन्छ कि नुनखुर्सानी चिउरा खाएर हुन्छ, तपाईहरु पाँच दिनमात्रै जम्मा हुने हो भने मेरो मुख ताक्नु पनि पर्दैन, नेताको ढोकामा पनि जानु पर्दैन ।’

2 COMMENTS

  1. कुरा निखारिदै गयाे ’किरातीहरुले पाँच दिनमात्रै इटहरी चोकदेखि राजधानी विराटनगरसम्म जाम गरेर एकपटक भेला हुनुहोस् त । चिउरा र रोटी खाएर हुन्छ कि नुनखुर्सानी चिउरा खाएर हुन्छ, तपाईहरु पाँच दिनमात्रै जम्मा हुने हो भने मेरो मुख ताक्नु पनि पर्दैन, नेताको ढोकामा पनि जानु पर्दैन ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्