निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभार छ

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताए ।

प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए ।

उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा निजी क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकास सम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरी रहेको बताए ।

‘स्थानीय तहलाई नै विकासको काममा जिम्मेवारी दिन अतिआवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेका ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए ।

भिमसेन मन्दिर पनि निजी क्षेत्रको सहयोगमामा निर्माण भएकाले अन्य मठमन्दिर पनि नेपाली मौलिक झल्कने खालको बनाउनुपर्नेमा उनले जोड दिए ।

ललितपुर महानगरपालिकामा प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका धार्मिक सम्पदाको पुनःनिर्माणलाई महानगरपालिकाले तीव्रताका साथ सम्पन्न गरेको उल्लेख गर्दै स्थानीय सरकारले मुलुकको विकासलाई अगाडि बढाउन सहयोग पु¥याएको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्र व्यापार व्यवसायमा मात्र नभई धार्मिक सम्पदाको निर्माण गर्नुपर्दछ भन्ने मान्यता राखेको बताए ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी दिए ।

करिब चार करोड ९७ लाखको लागतमा निर्माण गरिएको मन्दिर महानगपालिकाले एक करोड, एभरेष्ट बैक र इन्भेष्टेमेन्ट बैकले एक/एक करोड तथा स्थानीय श्रमदानमा निर्माण गरिएको हो ।

यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको बताइएको छ । रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्