एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति मगर संघको आपत्ति

लखन थापा प्रथम सहिद होइनन् भन्ने ओलीविरुद्ध विज्ञप्ति निकाल्ने तर नाम लेख्न डराउने मगर संघ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रथम सहिद लखन थापामगर नभएको हिजो काठमाडौंको एक कार्यक्रममा बताए । उनले प्रथम सहिद बाकावीर रहेको जिकिर गरे ।

‘नेपालको प्रथम सहिद लखन थापा’ भनेर चिनिदै आएको भए पनि अध्यक्ष ओलीले लखन थापा पहिलो सहिद नभएको बताए ।

मगर समुदायको साझा संस्था नेपाल मगर संघले हिजै एक प्रेस विज्ञप्ति जारी गरी ‘नेपालको प्रथम सहिद लखन थापा होइनन्, बाकावीर हुन्’ भन्ने ओलीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो ।

संघका महासचिव ज्ञानेन्द्र पुनमगरले ओलीको नाम उल्लेख नगरीकनै विज्ञप्ति निकाले । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा गलत र भ्रामक कुरा गर्ने छुट कसैलाई नभएको भन्दै चेतावनी पनि दिए ।

‘आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालीन जहानियाँ राणा शासनको विरुद्धमा नेपालमा पहिलोपटक संगठित विद्रोह गर्ने क्रममा १९३३ फागुन २ गते तत्कालीन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा बिना तथ्य प्रमाण केही नेताहरु र विद्वानहरुले भ्रामात्मक कुरा गरेकोप्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तत्कालीन संस्कृतिमन्त्री कृपाशुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्ले २०७२ असोज ३ गतेका दिन गरेको निणर्यको विरुद्धमा बोल्ने वा बहस गर्ने अख्तियारी कसैलाई नहुँदानहुँदै पनि राजनैतिक भाषणको लहदमा यसरी बारम्बार भ्रामक कुरा आउनु सबै सहिदमाथिको गम्भीर अपमान हो । लखन थापामगर लगायतका सहिदहरुको बलिदानीपूणर् योगदानका कारण नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा परिणत भएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रता छ । स्वतन्त्रताको नाममा गलत र झुट कुरा गर्ने छुट जोकसैलाई छैन ।’

संघले प्रथम सहिद लखन थापा मगर भनेर सामान्यज्ञानमा समेत स्थापित भइसकेको उल्लेख गर्दै मगर समुदायमाथि आँच आउने खालको गलत र भ्रामक कुरा नगर्न चेतावनी समेत दिएको छ ।

भाषणबाट गलत र भ्रम फैलाइएको भनिए पनि विज्ञप्तिमा भाषण गर्ने नेता ओलीको नाम लेखिएको छैन । किनकि, संघका महासचिव पुन र अध्यक्ष नविन रोका मगर नेकपा एमालेकै कार्यकर्ता हुन् ।

यसअघि पनि अध्यक्ष ओलीले कोसी नदीमा रहेको किरात राईहरुको सांस्कृतिक महत्वको खुवालुङलाई फुटाएर जेटबोट चलाउने भनी भाषण दिएका थिए ।

त्यसबेला त राईहरुको संस्था किरात राई यायोक्खाले औपचारिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाउनेसम्मकाे हिम्मत पनि गरेन । किनकि, यायोक्खाकाे नेतृत्वमा पनि एमाले निकटकै व्यक्तिहरु थिए ।

पछिल्लो समय सामाजिक सांस्कृतिक संस्थाहरुमा चरम् दलीय राजनीति हाबी हुँदै गएपछि ती संस्थाहरुको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्