जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले अन्य पार्टीभन्दा आफ्नाे पार्टी भिन्न रहेको बताएका छन् ।
अन्य पार्टीहरुले विकास निर्माण, शिक्षा, स्वास्थ्यको कुरा गर्ने तर आफ्नाे पार्टीले विकास निर्माण, शिक्षा, स्वास्थ्यका साथै जनतालाई पहिचान र अधिकार पनि दिने कुरा गर्ने उनको भनाइ छ ।
बुधबार जसपा नेपाल खिजिदेम्बा गाउँपालिका समितिले खिजिदेम्बाको खिजिफलाटेमा आयोजना गरेको चुनावी सभामा नेता राईले यो कुरा बताएका हुन् ।
‘अरुभन्दा हाम्रो सोच भिन्न के छ भने हामी जनतालाई अधिकारसम्मन्न पनि बनाउन चाहन्छौं,’ उनले भने, ‘अरुले विकास निर्माणको कुरा गर्छन्, शिक्षा स्वास्थ्यको कुरा गर्छन्, हामी पनि गर्छौै । तर हामी त्यति मात्रै गर्दैनौ, सुशासन र समृद्धिको साथमा नेपाली जनतालाई अधिरकासम्पन्न बनाउन चाहन्छौं ।’
उनले आफ्नाे पार्टी विभेदमा पारिएका जनतालाई मुक्त गर्न चाहने र देशमा समानुपातिक समावेशीलाई स्थापित गर्न चाहने बताए ।
उनले भने, ‘विभेदमा पारिएका जनतालाई विभेद मुक्त गराउन चाहन्छौं । समानुपातिक समावेशीलाई स्थापित गराउन चाहन्छौं । सहअस्तित्वको वातावरण, सबैलाई सेवा पुयाउने वातावरण, सबै जाति, भाषा, धर्मलाई समानतायुक्त अधिकार दिने सन्दर्भमा अरुभन्दा जसपा भिन्न छ ।’
सो क्रममा खिजिदेम्बामा जसपाका गाउँपालिका अध्यक्षका उम्मेदवार गम्बु शेर्पालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।
यदि जसपाले जितेपछि पनि पाँच वर्षमा सन्तोषजनक विकास भएन भने अर्कोचोटि भोट माग्न नआउने बताए ।
‘हामीले विकास दिन्छौं भन्ने कुरामा सत्यता छ । त्यो सत्यतालाई जाँच्नुहोस्,’ उनले भने, ‘यो पाँच वर्ष तपाईंहरुले काम गर्ने जिम्मा दिएपछि पनि तपाईहरुले सन्तोषजनक विकास निर्माणका कामहरु र सेवाग्राहीलाई सेवा प्रवाह भएनछ भने अर्कोचोटि फेरि हाम्रो टिम तपाईंहरुसँग भोट माग्न देखा पर्ने छैन ।’
जसपा प्रदेश १ सदस्यसमेत रहेका गाउँपालिका अध्यक्षको उम्मेदवार गम्बु शेर्पाले खिजिदेम्बाको निर्वाचनमा स्वस्थ्य प्रतिस्पर्धा गर्न कांग्रेस–एमालेका नेताहरुसँग आग्रह गरे ।
उनले कसैलाई धाक धम्की दिएर मत माग्ने काम गर्न नहुने बताए ।
उनले निर्वाचनमा जसले मासु चिउरा खुवाउँछ भने त्यहाँ उसले लगानी गरेको हुनाले मासु चिउरामै बिकेर भोट नहाल्न आग्रह गरे ।
उनले एक भोटले पनि खिजिदेम्बाको भविश्य बन्ने वा बिग्रने भएकोले विचार पुर्याएर मतदान गर्न आग्रह गरे ।
सो क्रममा विभिन्न वडाका कांग्रेस र एमाले नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी करिब ३०० जना जसपामा प्रवेश गरेका थिए ।
प्रवेश गर्नेहरुलाई जसपाका वरिष्ठ नेता राईले खादा ओढाएर स्वागत गरेका थिए ।
