जसपा विवादः हस्ताक्षर संकलन गर्नेहरुलाई कारबाही गर्न माग

शीर्ष नेताकै नेतृत्वमा अराजक गतिविधि

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अर्जुन थापा, पूर्ण बस्नेत, जुद्ध ढाक्रेलगायतका नेताहरुले पार्टीको शीर्ष नेताकै नेतृत्वमा पार्टीविरुद्ध हस्ताक्षर संकलन अभियान चलाइएको भन्दै अबिलम्ब सो कार्य रोक्न पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले आइतबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पुगेर अध्यक्ष यादवलाई ध्यानाकर्षण–पत्र समेत बुझाएका छन् ।

ध्यानाकर्षण–पत्रमा स्थानीय तहको निर्वाचनपछि हाल ‘पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केही केन्द्रीय नेताहरुले नै हस्ताक्षर संकलन अभियान कार्य गरिरहेको बुझिनआएको’ उल्लेख गरिएको छ ।

‘हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलनको प्रयोजन फरक फरक रहेको बताउने गरेका छन् । केही हस्ताक्षरकर्ताले यो सबै कार्य बाह्यशक्तिले गराइरहेको बताउने गरेका छन् भने कतिले डा. बाबुराम भट्टराईलाई कार्यकारी अध्यक्ष बनाउने हो भन्छन् । कोही पार्टी कब्जा गर्न, कोही पार्टी फुटाउन, कोहीले मन्त्रीमण्डलमा आफ्नाे मान्छे राख्न यो सब गरिएको भन्छन्,’ ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘शीर्ष नेताकै नेतृत्वमा पार्टीविरुद्ध थालिएको यस्तो अराजक गतिबिधिले पार्टी कार्यकर्ताहरुमा व्यापक भ्रम र निराशा सिर्जना गराएको छ र संगठनमा क्षति पुर्याउने काम भएको छ । यस्ता पार्टीविरोधी गतिविधिहरु अबिलम्ब रोकी यस्ता कार्यमा संलग्नहरुमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाहीको प्रक्रिया अघि बढाउन हामी जनता समाजवादी पार्टी नेपाल समक्ष जोडदार माग गर्दछौं ।’

ध्यानाकर्षण–पत्रमा केन्द्रीय सदस्यहरु पेशल ढकाल, प्रचण्ड पौडेल, विरेन्द्र प्रधान र सन्तोष सिलवालले समेत हस्ताक्षर गरेका छन् ।

यसैगरी पार्टीको विदेश विभाग सचिव भरत गुरुङ, संघीय परिषद् सदस्यहरु धनबहादुर तामाङ, दुर्गामणि सुवेदी, राजेश लोहनी, डा. दिलीपकुमार यादव र रोजबहादुर मोक्तानले समेत हस्ताक्षर गरेका छन् ।

डा. भट्टराई आफ्नाे पक्षमा बहुमत जुटे पार्टीको कार्यकारी अध्यक्ष बन्ने नजुटे जसपा छोडेर भिन्दै दल गठन गर्ने तहमा पुगिसकेको भन्ने चर्चा चलिरहेको बेला सात जना केन्द्रीय सदस्य लगायतका नेताहरुले भट्टराईले अराजक गतिविधि गरेको आरोप लगाउँदै कारबाहीका लागि अध्यक्ष यादवलाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।

लोकतान्त्रिक समाजवाद, संघीयता र धर्मनिरपेक्षतालाई मूल राजनीतिक दर्शन मानेर दुई वर्षअघि अर्थात २०७७ वैशाख १० गते मात्रै जनता समाजवादी पार्टी गठन गरिएको थियो ।

तत्कालीन संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता गरी घोषण गरिएको जसपा गत वर्ष पनि फुटेको थियो ।

जसपाबाट फुटेर जाने महन्थ ठाकुर र राजेन्द्र महतो समूहले लोकतान्त्रिक समाजवादी पार्टी बनाएका छन् भने हाल डा. भट्टराई समूह पनि फुटेर जाने अवस्थामा पुगेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img