‘किरात प्रदेश’ नाम राख्दा इतिहासकाे सम्मान हुन्छ : सुवेदी

प्राध्यापक डा. धनप्रसाद सुवेदीले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने बताएका छन् ।

उनले प्रदेश १ को भूगोललाई इतिहासदेखि नै वल्लो किरात, माझ किरात र पल्लो किरात भनिदै आएकोले त्यो पहिचानको सम्मान गर्न नाम किरात प्रदेश राख्नुपर्ने बताए ।

‘प्रदेश १ को भूगोललाई इतिहासदेखि नै वल्लो किरात, माझ किरात, पल्लो किरात भनिदै आएको हो, पुरानो तमसुकहरु हेरे पुग्छ । हिन्दु पण्डितहरुले पढ्ने सङ्कल्पमा त ‘कैरात देशे’ अझै चलेकै छ । पुराना चिनाचपेटाहरु पल्टाए पनि हुन्छ,’ उनले भने, ‘त्यसैले प्रदेश १ को नाम किरात राखियो भने कुनै अनौठो कुरा हुँदैन । त्यसलाई जातीय भन्दा पनि ऐतिहासिक भनेर बुझ्नु ठिक हुन्छ ।’

उनले हिजो फेसबुकमा प्रदेश १ को नामकरणबारे सटिक धारणा राखेका हुन् ।

जसमा उनले प्रदेश १ को नामकरणको विषय कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती भन्दा फरक रहेको उल्लेख गरेका छन् ।

प्रदेश १ मा पहिचानको लागि सशस्त्र संघर्ष नै भएको र जनताको मनोविज्ञान अन्य प्रदेशको भन्दा फरक रहेको उनले बताए ।

राजनीतिक दलहरुलाई उनको सुझाव छ, ’यहाँको मनोविज्ञान अलिक फरक छ, यस क्षेत्रमा पहिचानका लागि सशस्त्र युद्ध नै सुरु भएको थियो र त्यसलाई पनि केही न केही सम्बोधन गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्नुस् ।’

उनले देशका धेरै स्थान नामहरु जातिसँग जोडिएको भए पनि त्यही कारण कतै पनि जातीय द्वन्द्व नभएको पनि लेखेका छन् ।

हाल प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्न नेकपा एमाले र नेपाली कांग्रेस मानिरहेका छैनन् । बाँकी दलहरु भने पहिचानको आधारमा नाम राख्न तयार देखिन्छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. कैरात देशे हाेइन, आर्यावर्त अन्तर्गत नेपाल देशे हाे डा. साहव !

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्