हाम्रो माग ३२ सिट हो, सम्झौता हुँदा केही सिट छोड्न सकिन्छ : रकम चेम्जोङ (भिडियोसहित)

धनकुटामा यसपालि कांग्रेसले मलाई छाेड्नुपर्छ

जनता समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनभित्र कूल १६५ मध्ये ३२ सिट माग गरेको छ ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङकाअनुसार ३२ सिट माग गरिएकोमा गठबन्धनभित्र समझदारी हुँदा केही सिट छोड्न सकिने छ ।

जसपाबाट सिट बाँडफाँटसम्बन्धी कार्यदलका सदस्यसमेत रहेका चेम्जोङले भने, ‘हाम्रो माग ३२ सिट हो, त्यसमा दुई चार सिट सम्झौता होला । सबैले जतिजति मागेको हो त्यतित्यति पाउँला भन्ने मलाई लाग्दैन ।’

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले १०० सिट मागेको भए पनि त्यसरी सबैलाई नपुग्ने उनको भनाइ छ ।

‘कांग्रेसले मागेको १०० सिट त पुग्दैन नि ! उनीहरु पनि ८०, ७५ को हाराहारीमा झर्लान्, हामी पनि झरौला, माओवादी केही झर्ला, एकीकृत समाजवादी पनि झर्ला,’ उनले भने, ‘यस हिसाबले संख्या १६५ भित्र झर्ला भन्ने हामीलाई आशा छ ।’

सत्ता गठबन्धनसँग समझदारी हुन सकेन भने तपाईंहरु नेकपा एमालेसित मिलेर चुनाव लड्नुहुन्छ ? भन्ने प्रश्नमा उनले त्यो कुरा अहिले नै नसोचिएको बताए ।

उनले भने, ‘हामीले अहिले एमालेसँग मिलेर लड्ने सोचेकाे छैनौ । सकभर यही गठबन्धनमा कुरो मिल्छ, हामी यही गठबन्धनबाट चुनाव लड्छौं ।’

धरानमा पार्टी कार्यालयबाहिर जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसँग सल्लाह गर्दै रकम चेम्जोङ

उनले अब कार्यदल र सत्तारुढ दलका शीर्ष नेताहरुबीच नै बसेर चार पाँच दिनभित्रैमा सिट बाँडफाँटको कुरा मिल्ने बताए ।

सो क्रममा उनले अबको निर्वाचनमा धनकुटाबाट कांग्रेसले आफूलाई छोडिदिनुपर्ने पनि बताए ।

‘धनकुटा मेरो निर्वाचन क्षेत्र हो । योभन्दा अगाडि कांग्रेसका सुनिलबहादुर थापाजीलाई मैले छोडिदेको हो,’ उनले भने, ‘त्यसकारण यसपालि उहाँले छोड्नुपर्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्