काठमाडौं । नेकपा एकीकृत समाजवादीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विचार, सिद्धान्त र कार्यदिशा केही पनि प्रष्ट नभएको र प्रतिक्रियावादीहरुकाे सेवा गर्ने पार्टीको रुपमा रहेको उल्लेख छ ।
एकीकृत समाजवादीको शनिबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने केन्द्रीय कमिटीको पाँचौं बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योलका बिचमा सस्तो लोकप्रियतावादले रास्वपा उदाएको र रास्वपाले मूलत सर्वसाधारणमा भ्रम फैलाएर प्रतिक्रियावादीहरुको सेवा गर्ने काम गरिरहेको उल्लेख गरेका छन् ।
रास्वपाले संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति उसको प्रष्ट दृष्टिकोण नै नभएको प्रतिवेदनमा उल्लेख छ ।
रास्वपाबारे प्रतिवेदनमा भनिएको छ, ‘यो पार्टी प्रतिनिधिसभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ ।’