काठमाडाैं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाही गर्न माग गरेकी छन् ।
‘अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ, मगरलगायत समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्याे घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु’, बुधबार संसदमा उनले भनिन्, ‘हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।’
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी उनले यस्तो अभिव्यक्तिले आफू कति अपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको बताइन् ।
उनले गलत उदाहरण दिएर जाति तथा समुदायको संस्कार-संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा ‘तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहे हुने रहेछ, त्यसको जेनेटिक कारणले गर्दा अपराधिक मानसिकता भएकाहरु निस्कन्छन्’ भन्ने अभिव्यक्ति दिइएकी थिइन् ।