उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले टेकु घटनाकाे छानबिन गरी दाेषी प्रहरीमाथि कारबाही गर्ने र घाइतेहरुकाे उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।
अधिवक्त भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कारबाहीकाे माग राख्दै तामाङ र मगर समुदायका अगुवाहरुले गत १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडाैं अगाडि धर्ना दिने क्रममा प्रहरीले करिब तीन दर्जन प्रदर्शनकारीहरुलाई पक्राउ गरी कतिपयलाई हिरासतभित्रै घाइते हुने गरी कुटपिट गरेका थिए ।
साेमबार नेपाल तामाङ घेदुङ र नेपाल मगर संघका अध्यक्षसहितकाे टाेलीले गृहमन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएकाे हाे । साे क्रममा उनले घटनामा संलग्न दाेषी प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले उक्त घटनामा भएकाे प्रहरी हस्तक्षेपप्रति दुःकख व्यक्त गरेका छन् । साे घटनाकाे गम्भीर रुपमा अनुसन्धान गर्ने उनकाे भनाइ छ ।
तामाङ र मगर समुदायकाे अपमान हुने गरी विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेविरुद्ध उजुरी परेकाे भए पनि प्रहरीले उनलाई पक्राउ नगरेकाे विराेधमा टेकुमा प्रदर्शन गरिएकाे थियाे ।
साे क्रममा प्रदर्शनकारीहरुमाथि प्रहरीले दमन गरेकाे थियाे । उक्त घटनाका भिडियाेहरु सामाजिक सञ्जालमा भाइरलत भइरहेका छन् ।
घेदुङ र संघले बुझाएकाे ज्ञापनपत्रमा अधिवक्ता पाण्डेमाथि कारबाही गर्नुपर्ने, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही गरी घाइतेहरुकाे उचित क्षतिपूर्ति एवम् उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।