किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् रहेको बताएका छन् ।
मोरङको पथरीशनिश्चरे नगरमा मंगलबार यायोक्खा नगर समितिले आयोजना गरेको येले दोङ [नयाँ बर्ष] ५०८४ को अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा राईले सो कुरा बताएका हुन् ।
‘ढोल बनाउन गोरुकै छाला चाहिन्छ’, राईले भने, ‘छाला बोकेर हिँडे पक्रिने, थुन्ने र मुद्दा लगाएर राज्यले अझै पनि राई समुदायको सांस्कृतिक अधिकार माथि दमन गरिरहेको छ ।’
राष्ट्रपति, प्रधानमन्त्री, पूर्बप्रधानमन्त्री र मन्त्रीहरुले ढोल, च्याब्रुङ, झ्याम्टाको स्वागत खोज्ने तर छाला खोजेर ल्याउँदा जेल हाल्ने क्रम रोकिनुपर्ने राईको भनाइ छ ।
ढोल, च्याब्रुङको लागि छाला प्रयोग गर्न पाउने नीति नबनाएसम्म स्वागत नखोज्न र सांस्कृतिक बाजा बोकेर जानेहरुले पनि छाला र सांस्कृतिक अधिकारबारे कुरा राख्न सक्ने हुनुपर्ने उनले बताए ।
राईले अर्को प्रसंगमा यायोक्खामा आबद्ध नेता-कार्यकर्ताहरुमा बर्षमा दुई पटक साकेला नचाउने काम मात्र नगरेर अधिकार स्थापनाको लागि आवश्यक पर्दा सडक संघर्षमा निस्किने चेताना हुनुपर्ने बताए ।
आफू कुन पार्टीको कार्यकर्ता हुँ भन्ने भन्दा हाम्रो मुद्दा कसले बोक्छ र व्यवाहार गर्छ भन्ने बुझ्न सक्ने हुनुपर्ने उनले बताए ।
कौशिक ऋषिको नामबाट राखिएको कोशी प्रदेश नाम खारेजी र पहिचानको आधारमा पुनः नामकरणको शान्तिपूर्ण आन्दोलनमा गाउँ गाउँबाट जाग्नुपर्ने उपमहासचिव राईको भनाइ छ ।
कार्यक्रममा पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्बापोले प्रतिष्पर्धी क्षमताको विकास गर्नुपर्ने, एकले अर्काको सम्मान र सद्भाव कायम राख्नुपर्ने बताए ।
संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरको प्रमुख प्रशाकीय अधिकृत शशी राई, पूर्ब नगरप्रमुख दिलिपकुमार राई, यायोक्खा मोरङ जिल्ला सचिव काशिहाङ राई लगायतले शुभकामना दिएका थिए ।