ताप्लेजुङकाे मुक्कुमलुङ (पाथीभरा) मा केबलकार निर्माणको विरोधमा फेरि आन्दोलन सुरु गरिएकाे छ ।
विभिन्न संघ-संस्था र राजनीतिक पार्टीका प्रतिनिधिहरूले आज संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
जसमा यही माघ २९ गतेदेखि आगामी फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित आईएमई समूह बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔं पदयात्रा गर्ने,
ताप्लेजुङकाे फुङलिङ नगरपालिकाकाे कार्यालय घेराउ गर्ने, केबलकार निर्माणका सामग्री ढुवानी नगर्न सम्बद्ध पक्षलाई आग्रह गर्ने, काठमाडौं इटहरी र विर्तामोडमा विरोध सभा गर्ने, कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई विरोध पत्र पठाउने र अन्त्यमा अनिश्चितकालीन यातायात बन्द र हडताल पनि गर्ने उल्लेख छ ।
गत माघ १२ गते प्रहरीले दमन गर्दै गोली हानेर तीन जनालाई गम्भीर घाइते बनाएपछि केबलकार निर्माण विरुद्धको आन्दोलन चर्किएको थियो ।
आन्दोलन चर्किएपछि माघ २२ गते सरकार र आन्दोलनकारीको बिचमा ६ बुँदे सहमति भएको थियो ।
सरकारले गृहमन्त्रालयका कर्मचारी सह-सचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेकाे थियाे ।
तर, आन्दोलनकारीहरूले मन्त्री स्तरीय वार्ता टोलीसँग मात्र दोस्रो चरणकाे वार्ता गर्ने अडान राखेका थिए ।
सरकारले हिजाेसम्म मन्त्री स्तरीय वार्ता टोली गठन गरेको छैन ।
६ बुँदे सहमति पनि पालना नभएको भन्दै फेरि आन्दोलन थालिएकाे हाे ।