श्रमदान अभियान चलाएर चर्चित बनेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ हाल ‘श्रम संस्कृति पार्टी’ नामको नयाँ दल गठन गर्ने तयारीमा छन्।
दल दर्ता प्रक्रियामा आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएपछि मेयर साम्पाङ हिजो धरानबाट काठमाडौं पुगेका छन्।
उनले आज काठमाडौंमा प्रशिक्षण कार्यक्रम पनि आयोजना गरे।
अहिलेसम्म उनका पछाडि हजारौंको भीड देखिन्छ। युट्युबरहरू भ्युजका लागि तछाडमछाड गरिरहेका छन्।
यहीबीच, पूर्वमन्त्री तथा पूर्वमाओवादी नेता गोपाल किरातीले हर्क साम्पाङका समर्थकहरूले आफूलाई अशिष्ट र निकृष्ट शैलीमा धम्की दिएको बताएका छन्।
किरातीले फेसबुकमार्फत लेख्दै, आफूलाई ‘हर्कपथ’ मानेर तुरुन्त हर्क साम्पाङको पार्टीमा लाग्न, नभए राजनीतिक अस्तित्व नै समाप्त हुने धम्की दिइएको खुलासा गरेका छन्।
उनले आफू हर्क साम्पाङका शुभचिन्तक रहँदै आएको भए पनि बाध्य भएर लेख्नुपरेको उल्लेख गरेका छन्।
‘आफूलाई कथित हर्कपथका कार्यकर्ता दाबी गर्ने दर्जनौं अपरिचित व्यक्तिहरूले फेसबुक र मेसेन्जरमा अशिष्ट, निकृष्ट तथा अराजनीतिक शैलीमा हर्क साम्पाङको पार्टीमा तुरुन्त आइज, होइन भने तेरो राजनीतिक अस्तित्व समाप्त हुन्छ भन्ने जस्ता शब्द लेख्ने गरेका छन्,’ किरातीले लेखेका छन्, ‘त्यसैले गर्दा हामीलाई असाध्यै अपमान महसुस हुनुका साथै हर्क साम्पाङ भन्ने मानिस ज्यादै रद्दी रहेछन् भन्ने लाग्न थालेको हुँदा बाध्यतापूर्वक निम्न प्रतिक्रिया लेख्न पुगेका छौं।’
किरातीकाे स्टाटसः
हर्क साङ्पाङजीको पार्टीले किरात गणराज्यको नीति लिएको छ?
हामी प्रगतिशील दृष्टिकोणका मानिसहरु, खासगरी श्रम अभियानका आधारमा धरान नगर प्रमुख हर्कजीको शुभचिन्तक रहँदै आएका छौं। त्यसैले कुनै समय हाम्रो स्वकिय सचिव रहेका नगर उपप्रमुख आईन्द्रविक्रम बेघालाई कचकच नगरी सहयोग गर्न भन्दै आएका पनि हौं।
तर, आफुलाई कथित हर्कपथको कार्यकर्ता दाबी गर्ने दर्जनौं अपरिचित व्यक्तिहरुले फेसबुक र यसको मेसेन्जरमा अशिष्ट, निकृष्ट तथा अराजनीतिक शैलीमा “हर्क साङ्पाङको पार्टीमा तुरुन्त आइज, होइन भने तेरो राजनीतिक अस्तित्व समाप्त हुन्छ” जस्ता शब्दमा लेख्ने गरेका छन।
त्यसले गर्दा हामीलाई असाध्यै अपमान महशुस हुनुका साथसाथै हर्क साङ्पाङ भन्ने मानिस ज्यादै रद्दी रहेछन, भन्ने लाग्न थालेको हुँदा बाध्यतापूर्वक निम्न प्रतिक्रिया लेख्न पुगेका छौं:
१. इतिहासको एउटा कालखण्डमा सशक्त क्रान्तिकारी भूमिका निर्वाह गरेको र अझै पनि नयाँ विचार निर्माणका आधारमा देश, वर्ग र समुदायको सेवामा समर्पित एक जना राष्ट्रियस्तरको नेता त्यो तरिकाले त्यसरी कसैको पार्टीमा कोही पनि आउदैन र आउन जरुरी किमार्थ ठान्दैन।
२. जुन तरिकाले कथित हर्कपथमा लाग्न मानिसहरुलाई जोरजबरस्ति गर्ने हर्कत भइरहेको छ, त्यसरी त त्यसले बेलैमा हावा खाने निश्चित छ। २०४० देखि आजसम्मको हाम्रो राजनीतिक अनुभवले यही शिद्व गर्छ।
३. बालेन्द्र साह नामक गैरनेपाली व्यक्ति नेपाली जनताका शत्रु हुन, भन्ने हर्क साङ्पाङजीको आशय-प्रस्तुति सही लाग्छ। तर, हर्कजी र उहाँका उद्दण्ड कार्यकर्ताहरु लोकतान्त्रिक चरित्रमा खरो उत्रन एक्दम जरुरी छ। अन्यथा……. र
४. बहुजातीय मुलुक नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सम्भव छैन र कथं भइहाले पनि त्यो टिक्दैन। बरु त्यो त चरम जनघातक देशद्रोही मात्र ठहर्छ। त्यसैले गुणात्मक सुधारको समाजवाद उन्मुख संसदीय शासनप्रणाली नै यहाँ उपयुक्त हुन्छ।
अन्त्यमा, उपरोक्त सम्बन्धमा जसले अराजनीतिक टिप्पणि गर्नेछ, त्यसको Id अन्फ्रेन्ड या ब्लक गरिने स्वत:स्पष्ट छ। किनभने, राजनीतिक मानिसले अराजनीतिक टिप्पणी स्वीकार गरिँदैन। तर, स्वस्थ र मर्यादित वैचारिक-राजनीतिक छलफलका लागि भने हामीहरुको हृदयको ढोका सदैव खुल्ला रहेको यसैसाथ स्पष्ट गर्दछौं।



