श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो बोली कडा भए पनि मन सफा रहेको बताएका छन्।
सोमबार काठमाडौँको बूढानिलकण्ठ मन्दिरमा पूजा गर्न पुगेका साम्पाङले पत्रकारहरूसँग भने, ‘बोली चाहिँ मेरो कस्तो–कस्तो खालको हुन्छ, तर मनमा मेरो सबैप्रति सद्भाव छ।’
सो क्रममा उनले सबै जाति, सबै धर्म र सबै संस्कृति फुल्न–फल्न पाउनुपर्छ भन्ने आफ्नो आधारभूत मान्यता रहेको बताए।
उनले सबै धर्म–संस्कृतिको सम्मानका लागि विभिन्न धार्मिक स्थलहरूमा भ्रमण गरिएको पनि बताए।
उनले देशमा शान्ति, सुशासन र विभेदरहित समाज रहोस् भन्ने आफ्नो माग रहेको उल्लेख गरे।
उनले आज नेपालमा मात्रै नभई विश्वमै विभिन्न बहानामा मानिसहरूबीच द्वन्द्व भइरहेको भन्दै त्यस्तो नहोस् भन्ने कामना व्यक्त गरे।
उनले भने, ‘जो पनि जन्मेपछि मृत्यु लिएर आएको हुन्छ। आफैँ मरेर जाने मान्छेलाई मारेर को ठूलो हुन्छ?’