श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले गत भदौ १६ गते सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा ‘सामूहिक नेतृत्व प्रणाली’बाट पार्टी चल्नुपर्ने मतसहितको २४ बुँदे प्रस्ताव राखेका थिए।
पार्टी ‘सामूहिक नेतृत्व र संस्थागत निर्णय प्रक्रिया’बाट चल्नुपर्ने उनको प्रस्ताव रहेको छ। खासगरी, महत्वपूर्ण विषयहरू पार्टी पदाधिकारी तथा सम्बन्धित कमिटीमा छलफल गरी निर्णय लिनुपर्ने उनको प्रस्ताव छ।
तर उक्त प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको छैन। त्यो कार्यान्वयन हुने कि नहुने भन्ने विषय हाल विचाराधीन अवस्थामा रहेको छ।
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घले गुरुङले भने, ‘बैठकमा उहाँ (सुदन किराती)ले २४ बुँदे प्रस्ताव पेस गर्नुभयो, त्यसमा पछि विचार गरेर मात्र निर्णय गर्ने भन्ने कुरा छ।’
वरिष्ठ नेता किरातीले श्रम संस्कृति पार्टीलाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउन विधान निर्माणदेखि सामूहिक नेतृत्व प्रणाली, संस्थागत निर्णय प्रक्रिया, आन्तरिक लोकतन्त्र, वैज्ञानिक तवरको जिम्मेवारी बाँडफाँड, उम्मेदवार छनोटको स्पष्ट विधि लगायतका विषयमा फरक मत राखेका थिए।
यस्तो छ २४ बुँदे प्रस्ताव:
(क) नीति तथा संस्थागत व्यवस्था
१. विधान निर्माण– लोकतान्त्रिक, समावेशी र समयानुकूल विधान तयार गर्न विधान मस्यौदा समिति गठन गर्ने।
२. नियमावली तथा कार्यविधि– विधानको अधिनमा रही पार्टी सञ्चालन, आयोग, विभाग, कार्यालय, अन्य आवश्यक कार्यविधि निर्माण गर्ने।
३. आर्थिक पारदर्शिता– आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागु गर्ने।
४. निर्णय, कार्यान्वयन र अनुगमन– नीति तथा निर्णय कार्यान्वयनको जिम्मेवारी, समयसीमा र नियमित अनुगमन तथा मूल्यांकनको व्यवस्था गर्ने।
५. निर्वाचन नीति– स्थानीय तथा प्रदेश निर्वाचनका लागि निर्वाचन रणनीति र उम्मेदवार छनोटका स्पष्ट, वस्तुनिष्ठ तथा परदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्ने।
(ख) नेतृत्व तथा कार्यशैली
१. सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी– संस्थागत निर्णय र व्यक्तिगत जवाफदेहिताको स्पष्ट प्रणाली लागु गर्ने।
२. संस्थागत निर्णय प्रक्रिया– महत्वपूर्ण निर्णयहरु पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्ने र निर्णयको अभिलेख राख्ने।
३. अनुशासन र विवाद समाधान– प्रभावकारी अनुशासन आयोग गठन गरी आचारसंहिता लागू गर्ने र कारबाही तथा आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने।
४. जिम्मेवारीको वैज्ञानिक बाँडफाँड– नेता तथा कार्यकर्ताको क्षमता, अनुभव, रुचि, योगदान र आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्ने।
५. नेतृत्व सहयोग र समीक्षा– आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्ने।
६. आन्तरिक लोकतन्त्र र संवाद– नेतृत्व र कार्यकर्ताबिच नियमित संवाद, सुझाव तथा मतभेद समाधानको प्रभावकारी संयन्त्र विकास गर्ने।
(ग) संगठन तथा व्यवस्थापन
१. वैधानिक अध्यावधिक– निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अध्यावधिक गर्ने।
२. केन्द्रीय कार्यालयको सुदृढिकरण– केन्द्रीय कार्यालयलाई व्यवस्थित, प्रविधिमैत्री र नमुनायोग्य बनाउने।
३. संगठनात्मक एकीकरण– विभिन्न राजनीतिक धार, समूह, तथा पार्टीबाट आएका साथीहरुको क्षमता र योगदानका आधारमा उचित व्यवस्थापन गर्ने।
४. डिजिटल पार्टी निर्माण– सदस्यता, संगठन, अभिलेख, बैठक, निर्णय, आर्थिक विवरण तथा सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने।
५. प्रदेश तथा स्थानीय संगठन– प्रदेश इन्चार्ज सहइन्चार्ज तोक्ने तथा स्थानीय तहसम्म संगठन निर्माण, पुनर्गठन र नियमित समीक्षा गर्ने।
६. जनवर्गीय तथा पेशागत संगठन– आवश्यकता अनुसार जनवर्गीय तथा पेशागत संगठन गठन र परिचालन गर्ने।
७. श्रमदान अभियान– श्रम संस्कृतिलाई स्थापित गर्न श्रमदान विभाग गठन गरी सिर्जनात्मक र जनमुखी ढंगबाट श्रमदान अभियान सञ्चालन गर्ने।
८. प्रशिक्षण र नेतृत्व विकास– नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक, वैचारिक, संगठनात्मक तगा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गर्ने।
९. कार्यक्रम समन्वय– पार्टीका महत्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी वा विभागसँग पूर्वसमन्वय र छलफल गरेर मात्र सञ्चालन गर्ने।
१०. एकता तथा संवाद– पार्टी एकतामा आउन चाहने अन्य पार्टी, समूह वा व्यक्तिसँग संवाद र समन्वय गर्न अधिकारसम्पन्न प्रभावकारी एक वार्ता समिति गठन गर्ने।
११. संगठनात्मक रिपोर्टिङ– केन्द्र, प्रदेश र स्थानीय तहबिच स्पष्ट समन्वय, नियमित प्रतिवेदन र कार्यसम्पादन समीक्षा लागु गर्ने।
१२. एकीकृन सूचना प्रणाली– पार्टीका आधिकारिक निर्णय, सूचना र धारणा सम्प्रेषणका लागि एकीकृत सञ्चार प्रणाली विकास गर्ने।
१३ उपरोक्त विषयलाई लागु गर्न वार्षिक क्यालेन्डर बनाई जारी गर्ने।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीभित्र एकल निर्णय गर्ने गरेको आरोप छ।
कुनै पनि महत्वपूर्ण निर्णय वा काम कारबाहीबारे बिना छलफल सामाजिक सञ्जाल (फेसबुक)बाट निर्णय गरिएको सूचना दिने उनको तरिका रहेको आरोप छ।
उनले बुटवलको एक कार्यक्रममा आफ्नो आलोचना गरेको आधारमा तत्कालीन पार्टी उपाध्यक्ष डा. मित्र परियारलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी फेसबुकबाट दिएका थिए।
पछिल्लो समय पार्टीको क्युआरटी (क्विक रेस्पोन्स टिम) विघटनदेखि धरान नगर कमिटीकी शुक्रकुमारी राईसँगकाे गम्भीर विवादमा मुछिएका केन्द्रीय सदस्य राजेश खिम्दुङलाई कारबाही गरिएको विषय पनि उनले फेसबुकबाटै जानकारी दिएका थिए।
त्यतिबेला क्युआरटीका संयोजक रहेका ज्ञानु चाम्लिङले बिना छलफल फेसबुकबाट गरिएको घोषणाको विरोधमा प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षको कदम विधानविपरीत तथा अलोकतान्त्रिक रहेको भन्दै आपत्ति जनाएका थिए।
राजेश खिम्दुङले भने आफ्नो कुरा राख्ने समय नै नदिई पार्टी अध्यक्षले फेसबुकबाट निलम्बनको घोषणा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले पार्टीलाई व्यक्ति केन्द्रित नभएर विधि, विधान र लोकतान्त्रिक बनाउन श्रमदाताहरूसँग आह्वान पनि गरेका थिए।
हाल वरिष्ठ नेता किरातीले यही पृष्ठभूमिलाई हेरेर पार्टीलाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउन २४ बुँदे प्रस्ताव गरेका हुन्।