नेपाल आदिवासी जनजाति महासंघको १०औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते नवलपुरको कावासोतीमा हुने भएको छ ।
‘पहिचानसहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि सामाजिक सहमतिको पक्षमा १०औं महाधिवेशन’ बोलको नारासहित कावासोतीमा महाधिवेशन हुन लागेको हो ।
महासंघ नेपालमा रहेका ५९ आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने छाता संगठन हो । तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न महाधिवेशन गर्न लागेको हो ।
महासंघले खासगरी आदिवासी जनजातिहरुको भाषिक, सांस्कृतिक हक अधिकारका लागि काम गर्दै आएको छ ।
पछिल्लो समय महासंघले पहिचानसहितको संघीयता र अल्पसंख्यक आदिवासीहरुका लागि छुट्टै स्वायत्त, संरक्षित र विशिष्ट क्षेत्र निर्माण गर्नुपर्ने माग पनि राखेको छ ।
राजनीतिक मुद्दा उठाउन थालेसँगै पछिल्लो समय महासंघ दलीय राजनीतिको क्रिडास्थल बनेको छ ।
महासंघमा कुन पार्टीले नेतृत्व गर्ने ? भन्ने चरम राजनीतिक खिचातानी महाधिवेशनका बेला देखिने गरेको छ ।
हाल महासंघ कमजाेर बनेकाे छ । जसको एक प्रमुख कारण चरम दलीय राजनीति हो ।
हाल महासंघको अध्यक्षमा जगत बराम छन् । उनी नेपाली कांग्रेस निकट हुन् ।