वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाे छ ।
निर्वाचन आयाेगले हिजाे पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता शुक्रबार मध्यरातदेखि अर्थात चैत २६ गतेबाट लागू हुने जनाएकाे हाे ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदाता लगायतले पालना गर्नुपर्ने आचारसंहिता लागू गरेकाे हाे ।
आचारसंहिता लागू भएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत पाइने छैन ।
यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदानका साथै निर्वाचनको कामबाहेक कर्मचारी सरुवा र पदस्थापनमासमेत गर्न पाइने छैन ।
आचारसंहिता अनुसार आयोगको अनुमतिबिना सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमण जना नपाउने भएका छन् ।
त्यस्तै, उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन–तीन फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान रहेको छ ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।