जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य भूराज राईले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई मतदान गरी विजय गराउन अनुरोध गरेका छन् ।
नेता राईले सामाजिक सञ्जाल फेसबुकबाट भनेका छन्, ‘आउँदो वैशाख ३० को लोकल इलेक्शनमा हाम्रो होइन राम्रोलाई मतदान गरी निर्वाचित गरी विजय गराउन हार्दिक अनुरोध गर्दछु ।’
हाल देशैभर नेकपा एमालेलाई विजयी हुन नदिने लक्ष्य राखेर सत्तारुढ दलले चुनावी गठबन्धन गरेको छ ।
जसपा पनि सत्ता गठबन्धनमै छ ।
तर, गठबन्धन भने कतै चार दलीय, कतै तीन दलीय र कतै दुई दलीय पनि भएको छ भने कतिपय स्थानीय तहमा सत्तारुढ दल पनि एक्लै चुनाव लड्दैछन् ।
विराटनगर महानगरपालिका निवासी समेत रहेका नेता राई गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाबाट उपमेयरको नाम सिफारिस हुँदा पहिलो नम्बरमा परेका थिए ।
तर, महानगरपालिकाको उम्मेदवार केन्द्रले नै टुंगो लगाएको जसपाले तेस्रो नम्बरमा सिफारिसमा परेका अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उनी जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
आफू उपमेयरको उम्मेदवार बन्न नसके पनि चुनावी अभियानमा हिडिरहेका नेता राईले सामाजिक सञ्जालबाट हाम्रोलाई भन्दा राम्रोलाई मतदान गर्न आग्रह गरेका हुन् ।



