काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्पन्न मतदानपछि विश्वासको मत प्रस्तावको पक्षमा २६८ र विपक्षमा मात्र २ परेको छ ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले समेत विश्वासकाे मत दिएकाे छ ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै विपक्षमा मतदान गरेका छन् ।
मतदानमा २७० सांसद सहभागी थिए ।
प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये टेकबहादुर गुरुङ निलम्बित छन् भने राप्रपाका पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् ।
सांसद किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।