किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले दसैँ याक्थुङ लिम्बुहरुको लागि ठुलो क्यान्सर रहेको बताएका छन् ।

तर हाल क्यान्सर पत्ता लागिसकेकोले अब त्यसको औषधी-उपचार गर्नेतिर लाग्नुपर्ने उनले बताए ।

‘लिम्बुवानमा दसैँको दमन र गोर्खा सैनिकभित्र दसैँ’ शीर्षकमा आयोजित भर्चुअल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले लिम्बुहरुले दसैँको विकल्प खोज्न नहुने बताए ।

विकल्पको रुपमा चासोक तङनाम आइसकेकोले त्यसैलाई नै विकल्प लिन सकिने उनले बताए ।

‘चासोक एउटा विकल्प भइसकेको छ,’ उनले भने, ‘विकल्पको रुपमा हाम्रो चाडलाई नै व्यापक रुपमा मानेर जाऔँ ।’

उनले दसैँ हाम्रो चाड होइन भन्ने कुरा अब लिम्बु समुदायमा प्रष्ट भइसकेको बताए ।

उनले अब आउन लागेको बलिहाङ तङनाममा भाइटिका र लक्ष्मी पुजाबारे पनि बृहत चर्चा गरिने बताए ।

कार्यक्रममा विभिन्न विज्ञहरुले लिम्बुहरुको दसैँ चाड नभएकोबारे प्रष्ट पारेका थिए ।

अर्को वर्ष सरकारी कर्मचारीतन्त्र र सुरक्षा निकायमा कसरी दसैँलाई स्थापित गरियो भन्ने सन्दर्भमा चर्चा गरिने अध्यक्ष येक्तेनले बताए ।