उपराष्ट्रपति रामसहाय प्रसाद यादवले किरात धर्मका महागुरु फाल्गुनन्दको सद्विचार र सत्मार्ग सिंगो नेपाली समाजका लागि मार्गदर्शन रहेको उल्लेख गरेका छन् ।
महागुरु फाल्गुनन्दको १३९औं जन्मजयन्तीको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले सो कुरा उल्लेख गरेका हुन् ।
पछिल्लो समय समाजमा भड्किलोपन, आडम्बर र महंगा कुसंस्कृतिको विकास हुँदै गएकोले महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शन सबैले पालना गर्न अति जरुरी रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
‘किरात धर्म र संस्कृतिको मौलिक पहिचानको संरक्षणमा जोड दिँदै समाज सुधारको अभियानमा जीवनभर अहोरात्र समर्पित एवम् सक्रिय रहनुभएका किरात धर्मावलम्बीहरुको महागुरु फाल्गुनन्दको जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र उहाँले अवलम्बन गर्नुभएको सत्मार्ग किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिंगो नेपाली समाज र अन्य धर्मावलम्बीहरुका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्षहरु हुन् । उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ-आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्किलोपन, आडम्बर र मंहगा कुसंस्कृतिलाई मितव्ययी एवम् संयमित बनाउन सहयोग पुग्ने भएकाले हामी सम्पूर्णले त्यसको परिपालना र अनुसरण गर्न अति जरुरी छ ।’
राष्ट्रिभ विभूति समेत रहेका महागुरु फाल्गुनन्दको हरेक कात्तिक २५ मा जन्मयन्ती मनाउने गरिएको छ ।