भाषा जोगाउन ‘भाषा सङ्ग्रहालय’ बनाइने

नेपालमा बोलिने भाषाहरु बचाउनका लागि भाषा सङ्ग्रहालय निर्माण गर्ने तयारी गरिएको छ ।

शुक्रबार आदिवासी जनजाति आयोगको आयोजनामा ललितपुरमा भाषा सङ्ग्रहालयको अवधारणाबारे छलफल भएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको कार्यदलले भाषा सङ्ग्रहालयको अवधारणाबारे जानकारी गराएको थियो ।

मन्त्रालयले यसअघि नै त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. बालाराम प्रसाईंको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

जसमा डा. तारामणि राई र अमर तुम्याहाङ सदस्य छन् ।

छलफलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले भाषा सङ्ग्रहालय आवश्यक भएको भन्दै सङ्घ, प्रदेश र स्थानीय स्तरमा सङ्ग्रहालय विस्तार गर्नुपर्ने बताए ।

आदिवासी अगुवा मल्ल के सुन्दरले भाषा सङ्ग्रहालयको अवधारणा राम्रो भएको बताए । उनले यसलाई सबैको सहयोग र समन्वयका आधारमा अघि बढाउन सुझाव दिए ।

कार्यदलका सदस्य डा. तारामणि राईले विश्वका अन्य देशमा पनि भाषा सङ्ग्रहालय स्थापना भई भाषा संरक्षणको अभियान चलेकाले नेपालमा पनि आवश्यक रहेको बताए ।

उनले नेपालमाम आदिवासीहरुकै भाषा दुई तिहाई रहेको र जम्मा १२४ भाषी समुदायको भाषा जोगाउन सङ्ग्रहालय जरुरी रहेको बताए ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले भाषा सङ्ग्रहालयलाई सफल बनाउन सबै जाति तथा समुदायको मातृभाषा पाठ्यक्रमलाई उच्च तहमा पठनपाठन गराउनुपर्ने, प्रथाजनित कानुन निर्माण हुनुपर्ने, भाषा सङ्ग्रहालयका लागि चाहिने ऐन-कानुनहरु बन्नुपर्ने लगायत सुझाव दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्