तिलुङ राई भाषाकाे कक्षा १ को पाठ्यपुस्तक तयार

किरात राईभित्रका २५ भाषामध्ये सबभन्दा लोपोन्मूख अवस्थामा रहेको तिलुङ राई भाषाको कक्षा १ को पाठ्यपुस्तक तयार गरिएको छ ।

किरात राई तिलुङबुगा किमले खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकासँग सहकार्य गरी पाठ्यपुस्तक प्रकाशन गरेको हो ।

किरात राई तिलुङबुगा किमका अध्यक्ष हिमालसेर राईले हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक तथा भाषाविद् एवम् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईको प्राज्ञिक सहयोगमा पाठ्यपुस्तक प्रकाशन गरिएको बताए ।

हलेसी तुवाचुङ नगरपालिका वडा नं ३ स्थित पिपलटार र पिपचाई गाउँको सरकारी विद्यालयहरुमा तिलुङ भाषाको पाठ्यपुस्तक पठन-पाठन गरिने उनको भनाइ छ ।

पिपलटार हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईको गाउँ पनि हो । पिपलटार र पिपचाई तिलुङ राईहरुको मुख्य बसोबास वा बाहुल्यता भएको गाउँ हो ।

हिमालसेर राईका अनुसार खोटाङ, उदयपुर, ओखलढुंगा, मोरङ, सुनसरी लगायत जिल्लामा गरी तिलुङ राईहरुको जनसंख्या करिब ६ हजार छ ।

तिलुङ राई भाषाको प्रष्ट वक्ता भने तीनचार जनामात्र रहेको विज्ञहरुको भनाइ छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नं ३ घर भएका हिमालसेर राईले गाउँमा तिलुङ भाषा बोल्नेहरु भए पनि उनीहरुले नेपाली भाषा मिसाएर बोल्ने गरेको बताए ।

जसका कारण तिलुङ भाषा चाडै लाेपाेन्मूख अवस्थामा पुगेकाे उनको भनाइ छ ।

उनले तिलुङ राई भाषा बचाउने प्रयासमा नगरपालिका नै सामेल भएकोले नगरपालिकाले यस वर्षको शैक्षिकसत्रदेखि तिलुङ भाषाको पठन-पाठन सुरु गराउने विश्वास व्यक्त गरे ।

उनले अब कक्षा २ र ३ को पनि पाठ्यपुस्तक निर्माण गरिने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्