खुवालुङमा यो के गरिदै छ ?

अरुण, तमोर र दुधकोसी त्रिवेणीमा रहेको खुवालुङका कारण बोट चलाउन असहज भएपछि हाल उक्त स्थानमा नदीको बहाव फराकिलो बनाउने काम गरिदै छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत फागुन ८ गते विराटनगरको आमसभामा खुवालुङलाई क्रेनले फुटाएर बोट चलाउने नदीको बाटो क्लियर गर्ने बताएपछि प्रधानमन्त्री ओलीको चर्को विरोध गर्दै खुवालुङ संरक्षणका लागि आन्दोलन गरिएको थियो ।

हाल खुवालुङ फुटाउने योजनाबाट सरकार पछि हटेको छ । बरु खुवालुङलाई जोगाएरै नदीमा सहज ढंगले बोट चलाउने प्रयास गरिदै छ ।

तस्बिरः दिनेश काम्दुङ खम्बु र डिला राईबाट

नेपाल पानीजहाज कार्यालयले ९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेपछि खुवालुङको उत्तर–पूर्वतर्फ नदीको भाग फराकिलो बनाउने काम थालिएको हो ।

उपभोक्ता समिति गठन गरेर यो काम अघि बढाइएको हो । उपभोक्ता समितिमा हतुवागढी गाउँपालिका–९ भोजपुर, सहिदभूमि गाउँपालिका–१ धनकुटा र बेलका नगरपालिका–७ उदयपुरका स्थानीयहरुलाई राखिएको छ ।

किरात समुदायको आस्थाको केन्द्र खुवालुङ भोजपुर, धनकुटा र उदयपुरको सिमानामा रहेको छ । उपभोक्ता समितिका अध्यक्ष विशाल राईले विहीबार (वैशाख १६ गते) सम्ममा काम सकिने बताए । ‘चैत २४ गतेदेखि काम थालेका थियौ, भोलि र पर्सीसम्ममा सक्छौ,’ मंगलबार टेलिफोन कुराकानीमा उनले भने ।

तस्बिरः दिनेश काम्दुङ खम्बु र डिला राईबाट

नेपाल पानीजहाज कार्यालयका प्रवक्ता तथा मेकानिकल ईन्जिनियर राजन प्रधानले खुवालुङका कारण बोट चलाउन असजिलो भएकोले साँघुरो रहेको भागलाई फराकिलो बनाउने काम भइरहेको बताए । उनले सो क्षेत्रमा व्यवस्थित तथा सहज ढंगले बोट चलाउनका लागि अध्ययन भइरहेको समेत बताए ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले खुवालुङको उत्तरतर्फ नदीको भाग फराकिलो बनाउने प्रयास गरिए पनि बर्खायाममा तमोर नदीले ढुंगा र बालुवा ल्याएर फेरि उस्तै बनाउने बताए । यसको स्थायी समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

हाल सुनसरीको चतारादेखि भोजपुरको हतुवागढी गाउँपालिका–९ स्थित कोप्चेसम्म करिब ७ किलोमिटरको दुरीमा बोट सञ्चालन भइरहेको छ । बोट खुवालुङको उत्तर–पूर्वतिरबाट मात्र चल्ने गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष राईका अनुसार खुवालुङको दक्षिणतर्फ रहेको सात वटा ढुंगा पन्छाए उक्त भागबाटै सजिलो गरी बोट चल्नेथियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्