आजदेखि उपत्यकामा दुई साताका लागि निषेधाज्ञा

कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेकाे र उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा निकाय प्रमुखको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बिहीबारबाट उक्त आदेश लागू भएको हो ।

सर्वसाधारणले गर्न हुने र गर्न नहुने काम तथा गतिविधि किटान गरिएकाले निषेधाज्ञा कफ्र्युभन्दा धेरै नरम व्यवस्था हो । केही दिनअघि गरिएको निर्णयमा केही बुँदा परिमार्जन गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मङ्गलबार जारी गरेकाे थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारीसाधनका लागि पास नचाहिने बुँदा थप गरिएको छ । सवारीमा दुलहा–दुलही पनि हुनुपर्ने र १५ जनासम्म जन्ती जान पास चाहिने छैन ।

पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था, बीमा एवं नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा सञ्चालन हुन पाउने छन् ।

वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई काठमाडौँ जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरू बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाई टिकट, राहदानी, भिसा हुनेहरूलाई सीधै विमानस्थल जाने सवारीसाधनका हकमा सहजीकरण गर्न सकिने कुरा उल्लेख छ ।

यसैगरी सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागको अनुमति लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ ।

अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भीडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ ।

नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन् ।

सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ । काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्नेछ । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने प्रजिअको आदेशमा उल्लेख छ ।

यसैबीच निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले द्रुत अनुगमन टोली गठन गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुलगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न निकायका पाँच जना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।

अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरूलाई समेटेर टोली गठन गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको मन्त्रालयले जनाएको छ ।

टोलीमा आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिका विषयमा डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मीलाई जिम्मेवारी तोकिएको छ । गाेरखापत्र

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्