हिन्दु धर्मावलम्बीहरूको महान् चाड भनिने दसैँ नजिकिँदै गर्दा आदिवासी जनजाति अधिकारकर्मीहरूले यस वर्ष पनि ‘आदिवासी र दसैँ’ विषयक अन्तरक्रिया गरेका छन्।
दसैँले आदिवासी समुदायमा समेत गहिरो प्रभाव जमाएको र यसलाई कसरी समुदायस्तरबाट परित्याग गर्ने तथा आदिवासीहरूको मूल्य–मान्यता, पहिचान र परम्परामा आधारित संस्कृति र चाडपर्वहरूलाई जोगाउने भन्ने विषयमा उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
‘३४ वर्ष भएछ हामीले दसैँबारे छलफल गर्न थालेको,’ दसैँ परित्याग तथा मौलिक चाड सचेतना मञ्चले बिहीबार आयोजना गरेको जुम मिटिङमा आदिवासी अगुवा नन्द कन्दङ्वाले भने, ‘अब त बाटो स्पष्ट भइसक्नुपर्ने हो, तर हामी अझै पनि छलफलमै रहेछौं।’
लिम्बुहरूको आफ्नै चाड चासोक (उधौली) र यक्वा (उभौली) भए पनि शासकहरूले उनीहरूलाई दसैँ मान्न बाध्य पारेको उनले बताए।
उनका अनुसार सन् १७७४ मा जब लिम्बुवान कान्तिपुर राज्यसँग सम्झौता गरेर नेपालमा सामेल भयो, त्यतिबेलादेखि नै लिम्बुहरूमा दसैँको प्रादुर्भाव भएको हो।
वादे वादे जायते तत्व बोधको सिद्धान्तमा मात्रै अडिएर बस्यौं भने कहिल्यै यो हिन्दु उपनिवेशबाट मुक्त हुने छैनौं।
कन्दङ्वाका अनुसार लिम्बुवानमा भूमि उपभोग, कर संकलन तथा न्याय सम्पादन गर्ने अधिकारसहितको स्वायत्त किपट व्यवस्था लागू हुँदा दसैँ मान्ने प्रचलन पनि जोडिएको थियो।
‘तिमीहरूले दसैँ मान, हामीले तिमीहरूलाई अधिकार दिएका छौं भनेर किपटकाे अधिकार उपभाेग गर्दा दसैँ पनि मान्नुपर्ने अवस्था सिर्जना गरियो,’ कन्दङ्वाले भने।
डा. कृष्ण भट्टचनले समाजशास्त्रीय दृष्टिकोणमा ज्ञान, शक्ति र स्वार्थ आपसमा अन्तरसम्बन्धित रहेको र त्यसमा २५० वर्षदेखि नै नस्लवादी, उपनिवेशवादी तथा बाहुनवादी प्रवृत्ति हावी भएकाले आदिवासी जनजातिहरूले आजसम्म पनि आफ्ना चाडपर्वहरू मासिँदै गएकोमा चिन्ता व्यक्त गर्न बाध्य भइरहेकाे बताए।
‘कुनै एकजना आदिवासी मात्र होइन, धेरैले दसैँ मानिरहेका छन्। त्यसैले यो संरचनागत समस्या हो,’ उनले भने, ‘हामीलाई उपनिवेशवादी, बाहुनवादी, नस्लवादी बनाउने संरचना नभत्काईकन आदिवासीहरूमा दसैँ समाप्त हुने सम्भावना देखिँदैन।’
नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले दसैँ हिन्दु शासकले जबरजस्ती लादेको भए पनि नेपाल जस्तो बहुजातीय, बहुसांस्कृतिक मुलुकमा दसैँको औचित्य नरहेको बताए।
सांस्कृतिक अभियन्ता शालिक राईले किरातीहरूको मुन्दुम, इतिहास, संस्कृति, मिथक र मूल्य–मान्यताका हिसाबले दसैँ राईहरूको चाड नभएको प्रष्ट पारे।
वादे वादे जायते तत्व बोध सिद्धान्तले मुक्ति हुन्नः शेर्पा
शेर्पाले हिन्दु उपनिवेशवाद र दसैँबारे सभ्य बहस र अन्तरक्रियाले मात्र मुक्ति नदिने बताए।
काठमाडौँको सिडिओ कार्यालयले दसैँ मनाउनका लागि सवारी साधन पार्किङ गर्न समेत मुस्किल हुने गरी मार हान्ने मौलो राखेकाे देखेपछि आफूले लात हानेर हटाएको स्मरण गर्दै शेर्पाले भने, ‘हामी अब पनि वादे वादे जायते तत्व बोधको सिद्धान्तमा मात्रै अडिएर बस्यौं भने कहिल्यै यो हिन्दु उपनिवेशबाट मुक्त हुने छैनौं।’
उनले सरकारी विद्यालय, सरकारी कार्यालय र सुरक्षा निकायहरू अझै पनि हिन्दु धर्मको दबदबाबाट मुक्त हुन नसकेको बताए।
‘विद्यालयमा कृष्ण जन्माष्टमी मनाइन्छ, तर लोसार मनाइँदैन,’ उनले भने, ‘लिम्बुका बालबालिकालाई मयुरको प्वाख लगाएर कृष्ण नचाइन्छ तर लिम्बुकाे चाड चासाेक मनाइँदैन।’
उनले आदिवासी विद्यार्थीहरूलाई आफ्नै भाषा र संस्कृतिमाथिको राज्यदमनको इतिहास पढाउनुपर्ने धारणा राखे।
इतिहास सधैं जित्नेहरूको मात्रै लेखिने जिकिर गर्दै उनले भने, ‘मैले एमए पढुञ्जेलसम्म कुनै पनि पाठ्यपुस्तकमा हाम्राे भाषा संस्कृतिमाथिकाे राज्यदमनको इतिहास पढ्न पाइनँ। मलाई यो कुरा सडक आन्दोलन र आफ्नै अध्ययनबाट मात्रै थाहा भयो। आदिवासी विद्यार्थीहरूलाई यस्ता कुरा पढाउन सके दसैँको प्रभाव घट्दै जानेछ।’
अब स्थानीय तहदेखि नै सत्ता निर्माणतर्फ लाग्नुपर्छ
सत्ता निर्माणबाहेक विकल्प छैनः कन्दङ्वा
कन्दङ्वाले आदिवासी जनजातिहरूले सत्ता निर्माण नगरी दसैँ वा हिन्दु उपनिवेशवादबाट मुक्ति पाउन नसक्ने बताए।
‘हामी उपनिवेशमा परेका छौं। यसलाई डिकोलोनाइज नगरे हाम्रो अस्तित्व संकटमा पर्छ,’ उनले भने, ‘अब हामीले अस्तित्व र पहिचान बचाउने हाे भने विद्राेहकाे लाइनमा जानुपर्छ, खाली अधिकार मागिरहने कुराले बच्दैन। अब स्थानीय तहदेखि नै सत्ता निर्माणतर्फ लाग्नुपर्छ।’
उपनिवेशवादी संरचना नभत्काई दसैँ मेटिँदैनः भट्टचन
डा. भट्टचनले दसैँ आदिवासीहरूको लागि ‘सोसल्ली ट्रान्समिटेड डिजिज’ (एसटिडी) सरहको समस्या भन्दै वर्तमान उपनिवेशवादी संरचनामै प्रहार गर्नुपर्ने धारणा राखे।
‘दसैँ आदिवासीहरूको लागि वनमारा झार जस्तै हो, यो त क्यान्सरको अवस्थामा पुग्ने देखिन्छ,’ उनले भने, ‘यो रोग यसरी फैलिरहेको छ कि यसले एउटा परिवारदेखि समुदाय हुँदै राष्ट्र (आदिवासीकाे)सम्म सबैलाई दसैँमय बनाउँदै लैजान्छ।’
‘अर्काको चाड भए पनि मान्दिउ न त, मान्दा के बिग्रन्छ र’ भन्ने सोच गलत र दुखदायी भएको भट्टचनले बताए।
उनले भने, ‘दसैँले हाम्रो आस्था र पद्धतिहरूलाई महत्वहिन बनाउँदै छ।’

सांस्कृतिक सहिदहरूकाे सम्मानमा
कार्यक्रममा सांस्कृतिक सहिद रामलिहाङ र रिदामा राईको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।
सन् १८७६ मा उनीहरूले दसैँ मान्न अस्वीकार गरेपछि तत्कालीन शासकले झुन्ड्याएर हत्या गरेका थिए।
साे क्रममा मञ्चले दसैँ परित्यागको आह्वान गर्दै ‘दासी मनोविज्ञान बनाउने, ऋणमा डुबाउने, उपनिवेशिक दसैँ त्यागौं, दसैँको प्रभावमुक्त पहिलो पुस्ता निर्माण अभियानमा सहभागी बनौं’ भन्ने नारा सार्वजनिक गरेको थियो।



