तस्बिर निरन्ती तुम्बापाेबाट।

ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने माग गर्दै दशकौँदेखि आन्दोलन गर्दै आएका पहिचानवादी समूहहरूले पुनः चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

शुक्रबार ललितपुर र ताप्लेजुङमा एकसाथ आयोजित पत्रकार सम्मेलनमार्फत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति लगायत संस्थाहरूले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन्।

लामो समयदेखि जारी आन्दोलनका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भए पनि राज्यले न दोषीमाथि कारबाही गरेको छ न त केबलकार परियोजना खारेज गरेको भन्दै संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ।

राज्य तथा केबलकार पक्षबाट अझै पनि जबर्जस्ती निर्माण कार्य अघि बढाउन खोजिएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरिएको हो।

संघर्ष समितिका अनुसार मुक्कुमलुङ क्षेत्रको संरक्षण, केबलकार परियोजना खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठनसम्बन्धी आदेश खारेज, मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता, आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दा खारेज तथा आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका दोषीमाथि कारबाही गरिनुपर्ने मुख्य माग रहेका छन्।

यी मागहरू सम्बोधन नभएको भन्दै थप दबाबमूलक आन्दोलनका कार्यक्रम अघि सारिएको विज्ञप्तिमा उल्लेख छ।

संघर्षका कार्यक्रमअनुसार पुस १८ गते पत्रकार सम्मेलनबाट आन्दोलन सुरु भई माघ १८ गतेसम्म विभिन्न चरणका गतिविधि सञ्चालन गरिने छ।

पुस २२ गतेदेखि ताप्लेजुङसहित विभिन्न जिल्लाका गाउँघरमा भेला, माघ १२ गते छलफल कार्यक्रम तथा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर क्षेत्रमा विरोध प्रदर्शन र सचेतना कार्यक्रम गरिनेछ।

त्यस्तै, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा कोणसभा आयोजना गरिनेछ।

माघ १६ गते फुङ्लिङमा जनप्रदर्शन, माघ १७ गते आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम र माघ १८ गते हाक्पारे (कान्छीथान)देखि मुक्कुमलुङ माङ्धान स्थलसम्म धागो टाँग्ने कार्यक्रम राखिएको छ।

माघ १९ गते मुक्कुमलुङ क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभा गरी बाँकी माघ महिनाभर आन्दोलनलाई अझ व्यापक बनाइने छ।

साल्पा अनलाइनका फेसबुक रिलहरू हेरेर साझा गर्नुहाेस्ः