श्रम संस्कृति पार्टीमा समानुपातिक सिटको किचलो: ‘श्रमदाता’ बीच नै खोसाखोस

नाम फिर्ता लिनेको लर्को

खोटाङ । श्रम संस्कृति पार्टीभित्र समानुपातिक सांसद चयनको विषयलाई लिएर भाँडभैलो मच्चिएको छ।

समानुपातिक मतबाट प्राप्त चार सिटमा को जाने भन्ने विषयमा उम्मेदवारहरूबीच ‘तछाडमछाड’ भएपछि पार्टीको आदर्शमाथि नै प्रश्न उठ्न थालेको छ।

आकांक्षीहरूको चेतावनी र फेसबुक युद्ध

विवादको सुरुवात आदिवासी जनजाति महिला समूहको १६ नम्बरमा रहेकी समला राईको अभिव्यक्तिबाट भयो।

९ वर्षदेखि सङ्घर्ष गरेको दाबी गर्दै उनले आफूलाई पाखा लगाए ‘राम्रो नहुने’ भन्दै पार्टी अध्यक्ष हर्क साम्पाङलाई चेतावनी दिइन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘मैले नानीहरू छोडेर दिनरात नभनी आन्दोलन र श्रमदानमा भूमिका खेलेँ। कति गाली खाएँ होला, खै देखेको?’

उनले ३ नम्बरमा रहेकी उम्मेदवार आशा लामाले पनि सांसद नबनाए हर्क साम्पाङको घरमा धर्ना बस्ने चेतावनी दिएको खुलासा गरेकी छन्।

यता, १ नम्बरमा रहेकी मन्दिरा मुक्तानले पनि आफूले दुधे बालक छोडेर ‘हर्कवाद’का लागि श्रमदान गरेको भन्दै आफ्नै योगदानको चर्चा गरेकी छन्।

निर्वाचन कानुन अनुसार उनी सांसद बन्ने बलियो सम्भावना छ।

तर, यतिबेला ‘नबोल्नेको चामल पनि नबिक्ला कि’ भन्ने डरका बीच उनको अभिव्यक्ति आएको अनुमान गर्न सकिन्छ।

अध्यक्षको आक्रोशः ‘मेरो टाउको नखाऊ’

पार्टीभित्र पदका लागि रडाको मच्चिएपछि अध्यक्ष हर्क साम्पाङले कडा आक्रोश व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भात खाऊ, मेरो टाउको नखाऊ।’

साथै, उनले अब उप्रान्त समानुपातिकका लागि ‘रोइलो’ गर्नेहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने चेतावनी दिएका छन्।

नाम फिर्ता लिनेको लर्को

विवाद बढ्दै गएपछि केही उम्मेदवारले भने त्यागको घोषणा गरेका छन्।

२ नम्बरमा रहेकी मिनादेवी सिङ्गकले पार्टीमा विवाद नहोस् भन्नका लागि आफ्नो नाम फिर्ता लिएको घोषणा गरेकी छन्।

त्यस्तै, खस–आर्य पुरुष समूहका १ नम्बर उम्मेदवार जीवन विष्टले पनि आफ्नो नाम फिर्ता लिएका छन्। उनले ‘पार्टीभित्र लोभीहरू छैनन्’ भन्ने सन्देश दिन आफूले त्याग गरेको बताएका छन्।

‘कानुन नबुझ्दा समस्या’

पार्टी प्रवक्ता सत्य गुरुङले भने उम्मेदवारहरूले निर्वाचन कानुन र प्रक्रिया नबुझ्दा यस्तो समस्या आएको बताए।

सत्य गुरुङ

उनले भने, ‘समला राईले कानुनी व्यवस्था नबुझ्दा यस्तो परिस्थिति बनेको हो।’

उनले श्रम संस्कृति नयाँ पार्टी भएकाले अनुशासनको प्रणाली केही कमजोर रहेको र अब सुधार गर्दै लगिने बताए।

श्रम संस्कृति पार्टीले सुनसरी–१, खोटाङ र भोजपुरबाट प्रत्यक्ष निर्वाचन जितेको छ भने समानुपातिकतर्फ देशभरबाट ३,८५,९०२ मत प्राप्त गरी चार सिट पाउने भएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img