Wednesday, October 5, 2022
16.1 C
Diktel

यायोक्खालाई दलगत राजनीतिबाट अलग राखौं, स्वतन्त्र व्यक्तिले नेतृत्व गरौं

यायोक्खालाई विशुद्ध सामाजिक संस्था बनाऔं

किरात राई यायोक्खाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका युवराज राईले यायोक्खा अध्यक्ष राजनीतिक रुपमा स्वतन्त्र व्यक्ति हुनुपर्ने बताएका छन् ।

राजनीतिक दलको कार्यकर्ता वा सदस्यता लिएको व्यक्तिलाई अध्यक्ष चयन गर्दा त्यस्तो नेतृत्वले संस्थालाई दलको भ्रातृसंगठन जस्तो बनाउने उनले बताए ।

यायोक्खालाई दलगत राजनीतिभन्दा पर राखेर विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गर्नुपर्ने उनले बताए ।

‘गैरसरकारी संस्था भनेपछि त्यसमा राजनीतिक आबद्धता हुनुहुँदैन, त्यो संस्था नाफाखोर पनि हुनुभएन,’ उनले भने, ‘अब यायोक्खालाई विशुद्ध सामाजिक संस्थाको रुपमा समुदायको आवाजहरुको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा विकसित गर्नुपर्छ ।’

३२ वर्ष सरकारी सेवामा रहेर उपसचिवबाट अवकाश पाएपछि पूर्णरुपमा सामाजिक संस्थाकै काम गर्दै आएका उनले कुनै राजनीतिक दलको सदस्यता नलिएको र आफू एक स्वतन्त्र सामाजिक कार्यकर्ता भएको बताए ।

‘नेपाल सरकारको उपसचिवबाट अवकाश पाएपछि विभिन्न राजनीतिक दलहरुबाट तपाईं हाम्रो पार्टीमा आबद्धता जनाउनुस् भनेर अनुरोधहरु आएका थिए,’ उनले भने, ‘तर मैले राजनीतिक दलमा लागिसकेपछि समुदायको आवाज होइन दलको घोषणापत्र कार्यान्वयन गर्नुपर्ने अवस्था आउँछ भनेर कुनै पार्टीको सदस्यता लिइनँ ।’

किरात राई चाम्लिङ खाम्बातिमको दुई कार्यकाल अध्यक्ष भएर संस्थालाई प्रभावकारी ढंगले क्रियाशील गराएका उनले ठोस कार्ययोजना बनाएर अघि बढ्ने हो भने यायोक्खाले गर्नुपर्ने कामहरु धेरै रहेको औंल्याए ।

‘किरात प्रदेश नामकरणदेखि भाषिक क्षेत्रमा गर्नुपर्ने कामहरु, प्राज्ञिक क्षेत्रमा गर्नुपर्ने कामहरु, खुवालुङ संरक्षण, किरातजन्य गढीहरुको संरक्षणलगायत धेरै कामहरु कार्ययोजना बनाएर गर्न सकिन्छ,’ किरात राई अगुवाहरुको बिचमा शालीन र निष्ठावान् छवि बनाएका उनले भने, ‘नीतिगत निर्णय यायोक्खा केन्द्रले लिने र वडा तह, पालिका तह, जिल्ला तहमा रहेका समितिहरुलाई सक्रिय बनाएर ती कामहरु गर्न सकिन्छ ।’

यायोक्खाको पछिल्लो नेतृत्व ‘कन्टेनजेन्सी मेनेजमेन्ट’ (आकस्मिक व्यवस्थापन)मै चलिरहेको उनको टिप्पणी छ ।

उनले भने, ‘हाम्रो आन्दोलन कस्तो भयो भने कन्टेनजेन्सी मेनेजमेन्टमा चलेको जस्तो भयो । जतिखेर कुरो उठ्छ, त्यतिखेर मात्रै विराटनगर गयो आन्दोलन गर्यो, फर्किहाल्यो ।’

उनले हाल संविधानले दिएका केही अधिकारहरु नै कार्यान्वयन हुन नसकिरहेको र कतिपय अधिकार सम्बोधन हुन नसकेको बताए ।

यायोक्खालाई समुदायको तहमा पुर्याएर चेतना दिने र सांस्कृतिक आन्दोलनको माहोल बनाउने सवालमा नेतृत्व कमजोर बनेको उनले बताए ।

उनले अबको यायोक्खा अध्यक्ष राजनीतिक रुपमा स्वतन्त्र हुनुपर्ने, यायोक्खामा बिहान १० देखि बेलुकी ५ बजेसम्म बस्न सक्ने हुनुपर्ने र सरकारी कर्मचारी वा निजी कम्पनीको कर्मचारी नरहेको हुनुपर्ने बताए ।

यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज ८ देखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । युवराज राई बाहेक अहिलेसम्म अरु कसैले सार्वजनिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छैनन् ।

पछिल्लो समय यायोक्खाको महाधिवेशनमा दलीय आस्थाका आधारमा अलगअलग समूह निर्माण हुने र कुनै दलनिकटकै व्यक्ति अध्यक्ष भएर आउने परिपाटी चलेको छ ।

यही कारणले गर्दा यायोक्खा र मातहतका संगठनहरुमा पनि पटकपटक विवाद सिर्जना हुन थालेकाे छ ।

3 COMMENTS

  1. यायोक्खा लाई राई समुदायको विसुद्ध संस्था बनाउन विधान मै कार्यकारी पदमा गैह्र राजनीतिक ब्यक्ति हुनु पर्ने प्रावधान समावेश गरिनु पर्छ ।

  2. सहमति मा चुनिने माहौल बनियोस्, योग्य ब्याक्ती चुन्न सफल बन्नु होला।

    सकृयता को आधार मा हेर्दा दिवस राई सर लाई अझै एक कार्यकाल किराया ले नगुमाउदा हुन्थ्यो। बिधान ले दिन्छ भने वहालाइ पुनह एक कार्यकाल दिदा बेस हुने हो।

  3. युबराज राइ ज्यु कोभनाइ मा मेरोबिचार हामि सँमपुर्णकिरात हरुकोलागि सान्दर्बिकबिचार हो जस्तोलाग्छ ! हामि बनैा बँङसहरुको उथानगरैा र
    १. किरात सभ्येता !
    २.किरात धर्म !
    ३.किरातसास्कृति बचाउन !
    ४.किरातभुमि बचाउ !
    ५.किरातहरुको पैारार्णनिक सँमरचन खोजअनुसन्धान गर्ण !
    ६,किरातहरुका भाषा लिपि जगेर्णनागर्न !
    ७ .किरातहरुलाइ येकतामालेउन !
    मेरो तर्फबाट अगृम शुभकामना छ युबराज राइ ज्यु हजुर लाइ !

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्