काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बुधबार बुढानिलकण्ठ नगरपालिका वडा नं २ वासिकबाट प्रहरी वरिष्ठ हवल्दार सिंहलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
अख्तियारले प्रहरीले नै घुस मागेकाे उजुरी तथा सूचना पाएकाे थियाे ।
खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहज गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा सिंहलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
स्रोतका अनुसार सिंह प्रायः सिभिल ड्रेसमै हिँडडुल गर्ने र उनले यसअघि पनि अवैध बालुवासहितको ट्रक पक्रिने र घुस लिएर छोड्ने गरेका थिए ।
उनले यो काम काठमाडौं प्रहरी प्रभाव बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्रबहादुर चन्दको निर्देशनमा गर्ने गरेको स्रोतको दाबी छ ।
अख्तियारले पक्राउ परेका सिंहमाथि थप अनुसन्धान गरिरहेको छ ।