ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा पहिचान पक्षधरहरुले वृक्षारोपण गरेका छन् ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिकाे आयोजनामा लालीगुराँस लगायत रुख काटिएकाे ठाउँमा जेठ ३१ र ३२ गते वृक्षारोपण गरिएको हो ।
मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउने योजना अनुसार सरकारले सो क्षेत्रका हजारौं रुखहरु काटेको थियो ।
जसकाे स्थानीयले कडा विराेध गरेपछि रातिको समयमा ती रुखहरु काटिएको थियो ।
पहिचान पक्षधर अभियान्ताहरुले लिम्बु समुदायकाे सांस्कृतिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी हिन्दु नाम पाथीभरा बनाइएको र सो क्षेत्रका हजाराैं मुन्दुमी बोट–विरुवाहरु नष्ट हुने गरी रुखहरु काटेर केबलकार बनाएर निजी क्षेत्रलाई व्यापार गर्न दिइएकाे भन्दै विरोध गरिरहेका छन् ।
सो क्षेत्रमा लालीगुराँस, धुपी, चिमल, चाप लगायत विरुवा रोपिएको छ । २० हजार भन्दा बढी विरुवा रोप्ने लक्ष्य राखिएको छ ।
वृक्षाराेपण कार्यक्रममा स्थानीय लिम्बु समुदायका अगुवाहरु बढी उपस्थित थिए ।
वृक्षारोपणका लागि जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पा, रमेश राई, पूर्वमाओवादी नेता गोपाल किरातीलगायत नेताहरु पनि पुगेका थिए ।
साे क्रममा यबा, साम्बा, विजुवा आदिद्वारा तथा किरात धर्मावलम्बी र युमा साम्योद्वारा मुक्कुमलुङ माङकाे पुनःस्थापना पनि गरिएकाे थियाे ।