उत्पीडितहरूको राजनीति : अन्ततः रवि लामिछानेकै कार्यकर्ता

दलित समुदायले आफ्नै नेतृत्वमा राजनीतिक शक्ति निर्माण गर्नुपर्ने दाबी गर्दै ‘हाम्रो पार्टी नेपाल’ गठन गरेका खगेन्द्र सुनार अन्ततः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे।

सहकारीको करोडौँ रकम ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएर जेलबाट निस्किएका लामिछने ‘लोकप्रियतावाद’मा उदाएका विवादित नेता हुन्।

‘दलितलाई खै’ भन्ने अभियान पनि चलाउँदै आएका सुनार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको टिमबाट रास्वपाको केन्द्रीय सदस्य बने।

त्यसअघि उनले बालेन शाहसँग वार्ता गरेका थिए।

सुनारले ‘हाम्रो पार्टी नेपाल’ गठन गरी निर्वाचन आयोगमा दल दर्ता गराउँदै चुनावमा भाग लिने तयारीसमेत गरेका थिए।

यस्तै, नेपालमा लोडसेडिङ अन्त्य गरेको श्रेय आफ्नै नेतृत्वलाई दिने आधारमा ‘उज्यालो नेपाल पार्टी’ गठन (संरक्षक) गरेका कुलमान घिसिङ पनि रास्वपामा प्रवेश गरेका छन्।

घिसिङसँगै डा. महेन्द्र लावती लिम्बू, डकेन्द्रसिंह थेगिम लिम्बू, खगेन्द्र माखिमलगायत पहिचानवादी नेताहरू पनि रास्वपामा आबद्ध भएका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि डा. लावती र माखिम उक्त पार्टीबाट अलग भई ‘पहिचानवादी मोर्चा’ गठनमा लागेका थिए।

उनीहरूले देशका विभिन्न स्थान तथा विदेशसम्म संगठन विस्तार गरेका थिए।

घिसिङले आफू संरक्षक रहेर उज्यालो नेपाल पार्टी गठन गरेपछि पहिचानवादी मोर्चामा रहेका नेताहरू पनि त्यतैतर्फ आकर्षित भएका थिए।

तर पछि घिसिङले उज्यालो नेपाल पार्टीलाई रास्वपामै बिलय गराइदिएका छन्।

प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिका तत्कालीन अध्यक्ष डकेन्द्रसिंह थेगिम भने सुरुमा पहिचानवादी मोर्चामा आबद्ध थिएनन्।

इलाम–२ को उपनिर्वाचनमा पहिचानवादीहरूको साझा उम्मेदवार बनेका थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर तथा हाल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समेत चुनावी सहयोग गरेका थिए।

साम्पाङले उनलाई आफ्नै पार्टीमा आउन आग्रहसमेत गरेका थिए।

तर, हाल यी नेताहरू पहिचानसहितको संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता तथा संघीय प्रदेश संरचनाजस्ता उत्पीडित समुदायका महत्वपूर्ण राजनीतिक मुद्दाको पक्षमा नरहेका यथास्थितिवादी पार्टी रास्वपाका कार्यकर्ता बनेका छन्।

साल्पा अनलाइनका फेसबुक रिलहरू हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img