नागरिक लगानी कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिने

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणअनुसार प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत अनुमोदन गरेको छ।

सभामा अध्यक्ष घिमिरेले कोषका कार्यक्रमबाट नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै नागरिक पेन्सन योजनाको प्रवर्द्धन गर्दै जाने योजना रहेको जानकारी दिए। साथै आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दै लैजानेमा जोड दिए।

उनले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागी कर्जा विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने तथा जोखिम विश्लेषणका आधारमा उपयुक्त पूर्वाधार परियोजनामा लगानी बढाउँदै जाने नीति रहेको बताए।

साधारणसभामा सेयरधनीहरूबाट उठाइएका जिज्ञासाको जवाफ कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले दिए।

उनले कोषको वर्तमान अवस्था स्पष्ट पार्दै सेयरधनीहरूका सुझाव तथा जिज्ञासालाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यकारी निर्देशक कार्कीले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधिभित्रै साधारणसभा सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै डिजिटल युगअनुसार कोषले आफ्ना सेवा तथा कार्यशैलीलाई डिजिटल माध्यमतर्फ उन्मुख गरिरहेको बताए।

हाल अधिक तरलताको अवस्थाका कारण कोषको मौज्दात रकम पूर्ण रूपमा परिचालन गर्न चुनौती रहेको पनि उनले बताए।

उनका अनुसार कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको छ भने नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रिया अघि बढाइएको छ।

साथै विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि पहल भइरहेको र उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्यसमेत भइरहेको उनले बताए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img