नेपाली कामदार धेरै भएका देशहरुमा हवाई उडान सुरु गरिने

कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनःसंचालन गर्ने निर्णय गरेको छ ।

ती देशहरुबाट सातामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

यसैगरी गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवम् इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भैरहेको र आगामी साउनदेखि लगाउन थालिने बताए ।

कोभिड–१९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्