काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनका लागि संघीय लाेकतान्त्रिक गणतन्त्रविराेधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग घाँटी जाेड्न नहुने बताएका छन् ।

संघीय लाेकतान्त्रिक गणतन्त्रविराेधी शक्तिसँग घाँटी जाेड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने उनले बताए ।

अध्यक्ष प्रचण्ड राप्रपासहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले यही पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ ।’

उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपाले राप्रपा बाेक्दा भाेग्नुपरेकाे दुष्परिणाम स्मरण गर्न आग्रह गरे ।

माओवादी केन्द्रसँग एकता गर्न लागेका उनले भने, ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं ।’