जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले अहिलेको संविधानमा नेपाली जनताले ७० वर्ष लडेर प्राप्त गरेका उपलब्धिहरु समेत रहेकाले ती उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले २७ औं विश्व आदिवासी दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा नेता राईले संविधानमा राम्रा र नराम्रा दुवै चिज रहेको बताए ।

उनले संविधान निर्माण गर्दा अन्तरिम संविधान भन्दा पनि पछि फर्किएकोले संविधानलाई आफूहरुले ‘प्रतिगामी’ भनेको र संविधानमा हस्ताक्षर नगरेको बताए ।

‘वास्तवमा अन्तरिम संविधानको तुलनामा संविधान पछि फर्किएकै हो । अन्तरिम संविधानमा भएका व्यवस्थाहरुसम्मलाई संस्थागत गरिएकाे भए हामीले संविधानलाई प्रतिगामी भन्नुपर्दैनथ्यो, आगो लाउनु पनि पर्दैनथ्यो,’ उनले भने, ‘तर पनि यो संविधानभित्र कतिपय उपलब्धिपूर्ण कुराहरु छन् । नेपाली जनताले ७० वर्ष लडेर ल्याएका चिजहरुलाई पनि राखिएको छ । ती उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्न जरुरी छ भन्ने हाम्रो ठम्याइ हो । र त्यो प्रयत्न शान्तिपूर्ण ढंगले जनतामा गएर निर्वाचनको माध्यमबाटै गर्न सकिन्छ भन्ने निष्कर्ष हो ।’

उनले संविधान जारी गर्नुअघि संविधानको प्रत्येक धारामा मतदान गरिएको भए र सायद संविधानमा आफूहरुले समर्थन गरेका धाराहरु र अन्तरिम संविधानका व्यवस्थाहरुलाई समावेश गरिएको भए आफूहरुले पनि हस्ताक्षर गर्नेथियौ भने ।

उनले भने, ‘संविधान जारी गर्दा एउटा स्थिति हुनैपथ्र्यो, संविधानलाई प्रत्येक धारामा मतदान गरेको भए सायद त्यसका उपयुक्त धाराहरु, हामीले समर्थन गरेका धाराहरु र अन्तरिम संविधानमा भएका व्यवस्थाहरुलाई सामेल गरिएको अवस्थामा हाम्रो हस्ताक्षर जान्थ्यो ।’

तर, संविधानलाई एकैचोटि पास गरिएको र अन्तरिम संविधानको व्यवस्थाहरुलाई पनि उल्ट्याइएकोले त्यसमा आफूहरुले हस्ताक्षर नगरेको उनले बताए ।

उनले हाल आन्दोलन र जनयुद्धको राप, ताप सेलाउँदै गर्दा संविधानमा भएको उपलब्धिहरुलाई पनि फाल्ने नयाँ खालको अभ्यास सुरु भएको बताए ।

‘स्थिति कस्तो छ भने आन्दोलनको राप, ताप, चाप भएको बेलामा, जनयुद्धको दबाब भएको बेलामा अग्रगामी एजेन्डाहरुमा सहमत भएका नेताहरु, शक्तिहरु, दलहरु पनि जतिजति त्यसको राप, ताप चाप घट्दै गयो त्यतित्यति पछि फर्किन थालेको अवस्था छ,’ उनले भने, ‘अहिले त कस्तो स्थिति भयाे भने संविधानलाई संशोधन गरेर अग्रगामी दिशामा लानु त कहाँ छ कहाँ, भएको उपलब्धिहरुलाई पनि फेरफार गर्ने, त्यसलाई पनि हटाउने, त्यसलाई फाल्ने नयाँ खालको अभ्यास सुरु भएको अनुभूति भएको छ ।’

उनले फेरि पनि समाज रुपान्तरण गर्न चाहने शक्तिहरुले सहकार्य गर्नुपर्ने भएकाले आफ्नाे पार्टी पनि सहकार्यमा रहेको बताए ।

सो क्रममा नेता राईले आदिवासी जनजातिहरुको मुद्दा बाहिर भाषण गर्दैमा वा कोठाभित्र प्रशिक्षण चलाउँदैमा स्थापित नहुने बताए ।

‘हामी यिनै मुद्दाका लागि संगठित भएको पार्टी हौं । मुद्दाहरु बाहिर भाषण गरेर मात्र हुँदैन रहेछ, कोठामा प्रशिक्षण गरेर मात्र हुँदैन रहेछ । यो राजनीतिक शक्ति समीकरण कुन तहमा छ, त्यसका आधारमा नै निर्धारित हुने रहेछ,’ उनले भने, ‘मुलुकको शक्ति सन्तुलनभित्र खेलेर अलिक परिवर्तन ल्याउन सकिन्छ कि भनेर हामीले आफ्नाे तर्फबाट प्रयत्न गरेका छौं । हाम्रो पार्टीको जुन हैसियत छ, त्यसबाटै आकलन गर्न सकिन्छ कि हामी आदिवासी, मधेसी, दलित, उत्पीडितहरु राजनीतिक हिसाबले कुन तहमा छौं, त्यो चिज हाम्रो पार्टीको हैसियतले देखाइरहेको छ ।’

उनले आफ्नाे पार्टीको हैसियतबाट आफूहरुले उत्पीडितहरुको मुद्दा स्थापित गर्न सक्दो प्रयत्न गरिरहेको बताए ।

Please enter your comment!
Please enter your name here