प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश १ को नाम पहिचानको आधारमा ‘किरात प्रदेश’ हुनुपर्ने बताएका छन् ।
बिहीबार सुनसरीकाे बराहक्षेत्र नडाहमा आयाेजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनकाे १३७औं जन्मजयन्ती समाराेह समुद्घाटन तथा शालिक अनावरण कार्यक्रममा मन्त्री आङ्बाेले साे कुरा बताएका हुन् ।
उनले प्रदेश १ काे नाम किरात राख्नुपर्ने पहिल्यैदेखि बताउँदै आएका छन् । उनले किरात प्रदेश नाम राख्नका लागि सहयाेग गर्न नेकपा एमालेसँग आग्रह पनि गरे ।
एमाले अध्यक्ष केपी ओलीकाे विराेधकै कारण पहिचानकाे आधारमा प्रदेशकाे नामकरण हुन नसकेकाे जिकिर गर्दै उनले पहिचानकाे आधारमा प्रदेश नामकरणमा सहयाेग नगरे चुनावमा जनताले एमालेकाे मूल्याङ्कन गर्ने बताए ।
कार्यक्रममा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले प्रदेश १ काे नाम किरात लिम्बुवान राख्नुपर्ने बताइन् ।
आङ्बाे नेकपा माओवादी केन्द्रका नेता हुन् भने तुम्बाहाम्फे संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकी नेत्री हुन् ।
बराहक्षेत्रकाे नडाहस्थित किरातेश्वर हाङसाम युमा माङहिम प्राङ्गणमा किरात धर्मगुरु आत्मनन्द लिङ्देनको विशेष उपस्थितिमा १३७औं फाल्गुनन्द जन्मजयन्ती मनाइएको हो ।
धर्मगुरु आत्मनन्द लिङ्देनले माङहिम परिसरमा निर्मित दुई भव्य माङ्हिम उद्घाटन गरेका छन् । उनले माङ्हिम परिसरमा निर्माण गरिएको महागुरु फाल्गुनन्द लिङ्देनकाे पूर्णकदको शालिक समेत अनावरण गरेका छन् ।
साे क्रममा उनले आफू राजनीतिक दाउपेच नजान्ने भन्दै प्रदेशको नामाकरणकाे विषयमा ‘किरात सगरमाथा ‘ राख्दा कसैलाई आपत्ति नहुने बताए ।



