प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशकाे नाम किरात नै हुनुपर्ने बताएका छन् ।

प्रदेश १ का सबभन्दा पुरानाे आदिवासी किराती नै रहेकाले नाम किरात प्रदेश नै हुनुपर्ने उनकाे भनाइ छ ।

गत जेठ १४ गते धरानमा वडास्तरीय साकेला सिली प्रतियाेगिताकाे समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले बारम्बार भनिरहेकाे छु याे प्रदेशकाे नाम किरात नै रहनुपर्छ र कम्प्रमाइजमा जाँदाखेरि किरातसँग कुनै जाेड्न सक्छाैं भनेकाे छु ।’

कोसी सभ्यताको कुरा पनि आएकाे भए पनि मुख्यमन्त्री राईले सभ्यता प्रकृतिले नभएर मानिसले बनाउने बताए ।

‘किरात सभ्यता जतिको पुरानो सभ्यता केही पनि नभएकोले प्रदेश १ को नाम पहिचान र सभ्यताको आधारमा किरात हुनुपर्छ’, उनले भने ।

कार्यक्रममा सामाजिक विकासमन्त्री राजन राईले पनि प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने बताए ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आफू पनि माँझ किरातमै जन्मिएको भन्दै किराती संस्कार र संस्कृतिसँग जानकार भएको बताए ।

धरान उपमहानगरका नवनिर्वाचित मेयर हर्कराज राईले प्रदेशको नाम चाडै टुङ्गो लाग्नुपर्ने बताए ।

किरात राई यायोक्खा केन्द्रीय समितिका प्रतिनिधि दोर्पध्वज राईले प्रदेश १ को नाम किरात बाहेक विकल्प नभएकाे बताए ।