मुक्कुमलुङ अतिक्रमण गरी हिन्दु धाम बनाउने योजना किञ्चित् स्वीकार्य छैन

किरात याक्थुङ चुम्लुङले याक्थुङ⁄लिम्बु समुदायको आध्यात्मिक मुन्दुमी आस्थाको स्थल मुक्कुमलुङलाई सांस्कृतिक अतिक्रमण गरी हिन्दुहरुको प्रसिद्ध धाम बनाउने गुरुयोजनाअन्तर्गत केबलकार निर्माण गर्न खोजिएको भन्दै सोको विरोध गरेको छ ।

चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी ताप्लेजुङको आर्थिक विकासको हवाला दिँदै लिम्बु जातिको आध्यात्मिक स्थल विनास गरी मुक्कुमलुङमा केबलकार निर्माण गर्ने कार्य स्वीकार्य नहुने प्रष्ट पारेका हुन् ।

केबलकार निर्माण गर्दा मुक्कुमलुङ क्षेत्रको मुन्दुमी वनस्पतिलगायत रुखहरु फडानी गर्ने, मुन्दुमीलगायत पशुपन्छीको वासस्थल खलल गर्ने र पर्यावरणीय विनास समेत हुने भएकोले सो कार्य किञ्चित् स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।

मुक्कुमलुङ र चुम्लुङका अध्यक्ष प्रेम येक्तेन । तस्विरः येक्तेनकाे फेसबुक

चुम्लुङले मुक्कुमलुङमाथिको अतिक्रमण नेपालको संविधान २०७२ को धारा २६ र धारा ३२ अनुरुप समुदायको धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषय राज्यले हस्तक्षेप गर्न नपाइने प्रावधान विपरित समेत रहेको उल्लेख गरेको छ ।

मुक्कुमलुङमाथिको अतिक्रमण नरोकिए संसारभरका सबै लिम्बुहरु एकजुट भएर बलिदानीपूर्ण संघर्ष गर्ने चेतावनी पनि दिइएको छ ।

मुक्कुम्लुङ बचाउन संघर्ष गर्दै आएको चुम्लुङले ‘मुक्कुमलुङ याक्थुङ⁄लिम्बुको मुन्दुमी आस्थाको स्थल हो, हिन्दु अतिक्रमण बन्द गर’, ‘पवित्र स्थलमाथि केबलकार निर्माण बन्द गर’, ‘मुक्कुमलुङ युमा माङ्ङे सेवारो’ जस्ता नारा लगाउँदै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्