किरात समुदायको नयाँ वर्ष ‘किरात येले संवत्’ ५०८४ आज [१५ जनवरी] देखि सुरु भएको छ । किरातीहरुले माघ १ गतेलाई नयाँ वर्षकाे पहिलो दिनको रुपमा मनाउने गरेका छन् ।
येले संवत् प्रथम किराती राजा ‘यलम्बर हाङ’को नामबाट सुरु भएको हो । यसलाई लिम्बुहरुले ‘येले तोङ्बे’, राईहरुले ‘येले दोङ’ र सुनुवारहरुले ‘येले थोचे’ भन्दछन् ।
यलम्बर नेपालको प्रथम किरात राजा रहेकाे इतिहासकारहरुले पत्ता लगाएका छन् ।
नेपाल गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै हाल संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेकाे हाे ।
प्रथम किरात राजा यलम्बरले शासन सुरु गरेको कालखण्ड गणनाकाे आधारमा यस वर्ष येले संवत् ३८०३ हुन्छ ।
किरातजन्य संस्थाको पहलमा निर्माण गरिएको येले संवत् अध्ययन समन्वय समितिले खोज अनुसन्धान गरी तयार पारेको प्रतिवेदन अनुसार सन् २०२४ मा येले संवत् ३८०३ हुने हो ।
तर किरातजन्य संस्था तथा आम किरातीहरुले भने माैखिक प्रचलनकै आधारमा यस वर्ष ५०८४ मनाउँदै छन् ।
यलम्बर फाउन्डेशन [किराताेलाेजी रिसर्च सेन्टर] का महासचिव शङ्कर कुमार साम्पाङले आज किरात येले संवत् ३८०३ काे शुभकामना दिएका छन् ।
यलम्बर फाउन्डेशनकाे शुभकामना सन्देशः
आदरणीये किरात दिदीबहिनी तथा दाजुभाइहरू !
गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलत: किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ ।
हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि)हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौँ । यही किरात ये़ले़ संवत्का सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तरराष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२- १३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात ये़ले़ संवत्को कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात ये़ले़ संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) लाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।
श्रदेय प्रवुद्ध किरातजन !
किरात जनलोकमा प्रचलित किरात येले संवत्लाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात येले संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनस्र्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हुन आएको छ । यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरूको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ ।
यस गहनतम कुरालाई गम्भीरतापूर्वक मनन गरी दिनुहुन्छ भन्ने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवत्को नयाँ वर्ष ३८०३ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येले संवत्को प्रामाणिक काल गणना ३८०३ (सन् २०२४) लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।