राम्रा बने सामुदायिक विद्यालयका भवन, विद्यार्थी घटे

२०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएका धेरै सामुदायिक विद्यालय निर्माण भइसकेका छन् । विद्यालका भवन आकर्षक बने पनि विद्यार्थीको संख्या भने न्यून हुँदै गएको छ ।

भूकम्पपछि रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बनेका छन् । ती विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकोप्रति सरोकारवाला चिन्तित छन् ।

शैक्षिक गुणस्तर नहुनु, जनसंख्या वृद्धिदर न्यून हुनु र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनु लगायत कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घटेकाे जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापका प्रमुख भरतबहादुर भट्टराईले बताए ।

जिल्लामा ४०० भन्दा बढी विद्यालय भए पनि विद्यार्थी कम भएकै कारण समायोजन भएर ३६० को संख्यामा झारिएका थिए ।

तर अझै विद्यार्थीको अभावमा ती विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्था छ ।

आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ ।

यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्किन लागेपछि सुधारको प्रयासका लागि जिल्ला शिक्षा समन्वय एकाइ, विभिन्न पालिकामार्फत हुने गरेका तालिम, गोष्ठी र अन्तरक्रियाले पनि खासै काम गर्न सकेको छैन ।

पूर्वशिक्षक गुञ्जबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने र गाउँमा समानुपतिक विकास नहुनुका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको बताए ।

जिल्लामा पाँच नमूना माध्यमिक विद्यालय छन्, एक-दुई वटाबाहेक ती विद्यालयले पनि खासै गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् ।

मुलुक संघीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्किँदै गएको छ ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले पनि जथाभावी विभिन्न बहानामा शुल्क असुल्ने गरेको र घरमा रहेका आफूजस्ता अभिभावक सौखिन भएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या नबढेको अभिभावक शान्ति प्रकाश दाहालले जानकारी दिए ।

सबै तहका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने खालको दक्ष शिक्षक नहुनु, शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाउनु, शिक्षक नियुक्ति गर्दा अनुभवी र दक्ष एवं राम्रा शिक्षकलाई भन्दा आफन्तलाई प्रक्रिया मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको जनाइएको छ ।

अभिभावक सञ्जय वाग्लेले शिक्षक सेवा आयोगबाट आधारभूत वा माध्यमिक तह पास गरेर आएका शिक्षकमध्ये पनि पहुँचवालालाई मात्र आफ्नो पालिकामा ल्याउन पहल गर्नु नै शैक्षिक गुणस्तर खस्किनु र विद्यार्थीको संख्या घट्नुका कारण भएको बताए ।

यसो त कक्षा १ देखि १२ सम्म निःशुल्क पाठ्यपुस्तक, ५ कक्षासम्म दिवा खाजाको व्यवस्था, टोलटोलबाट विद्यार्थी ल्याउन विद्यालयमा बसलगायतका सुविधा पनि नभएको भने होइत ।

तर यी सुविधा हुँदाहुँदै पनि विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढेको छैन ।

संस्थागत विद्यालयसँग नमुना माविको रूपमा रहेको मन्थली मावि मन्थली र मावि डहुलेभन्दा बाहेकका अन्य माध्यमिक विद्यालयले गुणस्तरमा भने प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

त्यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या नबढेको हो ।

आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ ।

दक्ष तथा अनुभवी एवं युवापुस्ताका शिक्षकलाई नयाँ नियुक्ति दिने र २० वर्ष वा बढी समयसम्म शिक्षण गरेका शिक्षकलाई पेन्सन दिनुपर्ने अभिभावक नारायणबाबु बस्नेतले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्