खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जोडिएको मुन्दुम ट्रेलमा एक लाख पर्यटक भित्राउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ मनाउने तयारी गरिँदै छ ।
सोमबार (असार ३ गते) काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ बारे जानकारी कार्यक्रम गरियो ।
पूर्व पर्यटनमन्त्री सुदन किराती प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा खोटाङका संघीय सांसद रामकुमार राई ‘पासाङ’, पूर्वमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, भोजपुरका प्रदेश सांसद विनोद बान्तावा, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ट्रेकिङ एजेन्सी एसोसिएशन नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोला, स्विस डेभलपमेन्ट कर्पोरेशनका प्रदेश फिल्ड अफिसर सुशील श्रेष्ठ, साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ, लोकप्रिय अभिनेता दयाहाङ राई, नेकपा एमाले नेता हरिबहादुर राई लगायत अतिथि थिए ।
कार्यक्रम भने मुन्दुम ट्रेलका प्रवर्धक संस्था ‘मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्र’का अध्यक्ष रमेश राईको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा वक्ताहरुले सन् २०२५ मा मुन्दुम ट्रेलमा एक लाख पर्यटक भित्राउनका लागि संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दलका नेताहरु र सम्बन्धित संस्थाका प्रतिनिधिहरुले निर्वाह गर्नुपर्ने भूमिकामा जोड दिएका थिए ।
नेकपा माओवादीका नेता समेत रहेका सुदन किरातीले मुन्दुम ट्रेल भ्रमण वर्षमा पर्यटक भित्राउने अभियानमा जिम्मेवारी बोक्न तयार रहेको बताए ।
उनले भने, ‘एक लाख पर्यटक भित्राउने अभियानमा मेरो हिस्सा के हो भनिदिनुस्, म बोक्न तयार छु ।’
उनले सांस्कृतिक मार्ग समेत रहेको मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउँदा ऋतु अनुसार मुन्दुम ट्रेलको ब्रान्डिङ गर्नैपर्ने बताए ।
सांसद रामकुमार राई ‘पासाङ’ले मुन्दुम ट्रेल संस्कृति र प्रकृतिसँग जोडिएको नेपालकाे एक महत्वपूर्ण पदमार्ग भएकोले सोको उद्देश्य पुरा गर्न सबै दलका नेताहरु एक हुनुपर्ने बताए ।
मुन्दुम ट्रेललाई दलहरुले राजनीतिक आग्रह–पूर्वाग्रह राखेर राजनीति गर्ने थलो बनाउन नहुने उनको भनाइ छ ।
सो क्रममा उनले पर्यटकीय भूगोललाई प्राकृतिक रुपमै रहन दिनुपर्ने भन्दै टेम्केको डाँडासम्मै सडक खनिएकोमा दुःख व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मुन्दुम ट्रेल नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए ।
उनले पर्यटन बोर्डले अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्दा मुन्दुम ट्रेललाई पनि समावेश गर्ने गरिएको सुनाए ।
सो क्रममा उनले हालै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग कुराकानी गर्दा मुख्यमन्त्रीले स्विस सरकारको एउटा ठुलो प्रोजेक्ट मुन्दुम ट्रेलमा ल्याउने गरी सम्झौता भइसकेको जानकारी दिएको स्मरण गरे ।
मुन्दुम ट्रेल भ्रमण २०२५ को संयोजक संस्था मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष रमेश राईका अनुसार भ्रमण वर्षभरि सिजन अनुसार विभिन्न महोत्सव गरिने, प्राकृतिक सौन्दर्यसहित चैत–वैशाखमा गुराँस महोत्सव, घोडचढी महोत्सव, माउन्टेन साइक्लिङ, क्यानोइङ, फिल्म शुटिङ महोत्सव, जेठ–असारमा गोठस्टे, हनी हन्टिङ, वैशाख र मंसिरमा साकेला उभौली र उधौली महोत्सव, फिसिङ महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथुन महोत्सव, धामी (नछुङ) महोत्सव, साल्पा सिलिचुङ यात्रा महोत्सव, रुद्राक्ष महोत्सव आदि गरिने बताए ।
राईका अनुसार भ्रण वर्ष सम्पन्न गर्नका लागि प्रचार–प्रसार, तालिम, सेमिनार, पूर्वाधार सुधार लगायतमा कूल ४ करोड २३ लाख रुपैयाँ खर्च हुने छ ।
भ्रमण वर्ष आयोजककाे रुपमा टेम्केमैयुङ, केपिलासगढी, साल्पासिलिछो, साकेला, आमचोक, हतुवागढी, रामप्रसाद राई, महाकुलुङ, भोजपुर र षडानन्द गाउँपालिका तथा नगरपालिका रहेका छन् ।
भ्रमण वर्ष सफल पार्नका लागि मुन्दुम ट्रेलसँग जोडिएका पालिकाहरुको सहभागितामा यसअघि नै मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।
सोमबारकाे कार्यक्रममा चर्चित गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, विश्व साइकलयात्री पुस्कर शाह, अल्ट्रा धाविका मिरा राई र माउन्टेन गाइड तथा सगरमाथा आरोही पेम्बा वाञ्चु शेर्पालाई मुन्दुम ट्रेल पर्यटन दूत घोषणा गरिएको थियो भने मुन्दुम ट्रेल सम्बन्धी प्रचारात्मक प्रोमो भिडियो सार्वजनिक गर्नुका साथै ब्रोसर र ट्रेलको नक्सा पनि वितरण गरिएको थियो ।