पूर्वमन्त्री गोपाल किराती, नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा. मित्र परियारलगायत नेताहरु प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चामा आबद्ध भएका छन् ।
आज उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता र मोर्चाबन्दीबाटै साझा उद्देश्य र लक्ष्य प्राप्त हुने भन्दै मोर्चामा आबद्ध भएको घोषणा गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपालका पूव सल्लाहकार रहेका माेर्चाका संयाेजक प्रा.डा. लावतीसहित ९ जनाले एक प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।
जसमा आगामी निर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने तयारी गरिएको जनाइएकाे छ ।
उनीहरुले नेपाली कांग्रेस र नेकपा एमालेले हालै निर्माण गरेको सरकारले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली हटाउने तथा प्रतिगमनकारी कदम चाल्ने प्रयास गरिरहेकाे भन्दै त्यस्तो दुस्साहस गरिए तेस्रो जनआन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान पुनर्लेखनबाट एकल जातीय राज्यको अन्त्य गरी बहुसांस्कृतिक, पूर्ण समानुपातिक र सहभागितामूलक समाजवादी लोकतान्त्रिक राज्य स्थापना गर्न सबै दलमा रहेका पहिचानवादी व्यक्ति र शक्तिहरुलाई एक भई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।’
वर्तमान राज्यलाई एकल जातीय राज्य मानेकाे मोर्चाका नेताहरुले भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि–स्टेट काण्ड, सहकारी काण्ड, सुन काण्ड आदि भ्रष्टाचारका काण्डहरुमा संलग्न व्यक्ति र तिनका नाइकेहरुलाई कडा कारबाही गर्न तथा बाढी–पहिरो वा प्राकृतिक प्रकोपका पीडितहरुलाई तुरुन्त उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध पनि गरेका छन् ।