सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आएका दलित दिपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ ।
चैत १७ गते सुरु हुने विष्णु महायज्ञको लागि यज्ञ स्थलको मुखमा ऐलानी जग्गामा बस्दै आएका दिपक मरिक (डुम)लाई अन्यत्र सारिएको हो ।
आफू बस्दै आएको घर खाली गराउन पुरै गाउँलेले सहमति गरेपछि बाध्य भएर घर खाली गर्नु परेको दिपक मरिकको श्रीमती अनिता मरिकले बताइन् ।
“गाउँमा एक घर मात्र डुमको घर छ । गाउँले गरेको निर्णय मान्नै पर्यो । सबैले सहमति गरेर त्यही वडामा पर्ने श्री सुन्दर माध्यमिक विद्यालय औरहीको पश्चिम हुलाकी सडकको कल्भर्टको पानी बग्ने विद्यालयको दुई धुर जग्गामा दुई कोठाको फुसको घर बनाइदिएको छ । न त्यहाँ खानेपानी न विद्युत केही छैन । खानेपानीको लागि निकै टाढा जानुपर्ने बाध्यता छ । वर्षको सययमा जम्ने पानीले फेरि विस्थापित हुनुपर्ने डरले झन् सताएको छ,” उनले भनिन् ।
विष्णु महायज्ञको लागि दिपक मरिक बसेको स्थान चयन भएदेखि नै महायज्ञको आयोजना गर्ने बजरङ्गी बाबाले अछुतो मान्ने डुमको आगाडि कसरी महायज्ञ गर्ने ? सर्त राखेपछि औरही गाउँका महायज्ञ गर्नेहरुले बैठक बसेर दिपक मरिकको परिवारलाई घर खाली गराउन गाउँलेहरू सहमति गरेपछि औरही गाउँपालिकाको जेसीवी लगाएर घरमा कोही नभएको बेला घर भत्काएको थियो ।
घर रहेको ठाउँको दुई फिट माटो समेत हटाएर त्यस ठाउँलाई शुद्धिकरण गरिएको छ ।
दिपक मरिकलाई घर खाली गराउन कुनै मानसिक सामाजिक दवाव नदिएको गाउँपालिका अध्यक्ष शिवजी यादवको दाबी छ ।
उनका अनुसार २०८१ फागुन ११ गते घर खाली गर्ने दिपक मरिकले स्वयम मञ्जुरीनामा कागज गरेपछि घर खाली गराएको हो ।
उनले भने, “सहमतिमा नै त्यस ठाउँमा कृषि बजार व्यवस्थापन गर्न ठेक्का टेण्डर लागाउने कार्य अघि बढेपछि सहमति पत्रमा हस्ताक्षर गरेपछि सुरक्षित ठाउँमा घर बनाइदिएको हो । एक दुई दिनमै खानेपानी र विजुलीको व्यवस्था मिलाइनेछ । यसलाई गलत प्रचार गरेर महायज्ञ हुन नदिइन विपक्षीले षड्यन्त्र गरिरहेको छ ।” गाेरखापत्र अनलाइनबाट



