राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २००७ सालदेखि २०८२ सालसम्मका सबै प्रधानमन्त्रीहरूले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई बेवास्ता गर्दै आएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्रीले पनि बेवास्ता गरे देशको अर्थतन्त्र बन्न नसक्ने बताएका छन्।
उनका अनुसार, यस क्षेत्रको विकास नहुँदा देशमा भ्रष्टाचारको संस्कार बढ्ने र त्यसले अशान्ति निम्त्याउने खतरा हुन्छ।
एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित ती पार्टीका नेताहरूलाई बारम्बार यस क्षेत्रलाई सम्बोधन गर्न अनुरोध गरे पनि बेवास्ता गरिएको पुनले बताए।
उनले फेसबुकमा लेखेका छन्, ‘वि.सं. २००७ सालदेखि अहिले २०८२ सालसम्मको ७५ वर्षमा सबै प्रधानमन्त्रीहरूले बेवास्ता गरेको क्षेत्र भनेको विज्ञान, प्रविधि, व्यवहारिक अनुसन्धान, नवप्रवर्तन, अनुसन्धान तथा विकास हो। अबका प्रधानमन्त्रीहरूले पनि यो क्षेत्रलाई बेवास्ता गरे देशको अर्थतन्त्र बन्ने छैन र अशान्ति फैलिन्छ।’




